कांग्रेस–एमाले सरकारको सम्भावना छ ?

काठमाडौँ । प्रत्यक्षतर्फको करिब करिब नतिजा आइसकेको छ । समानुपातिकतर्फको पनि आधाभन्दा बढी मत गनिसकिएको छ । यसबेला कसको नेतृत्वमा सरकार बन्छ भन्ने दृष्य प्रष्ट देखिनुपर्ने हो । तर, चुनावी परिणामले नयाँ सरकार गठनका लागि कुनै पनि दलले स्पष्ट बहुमत पाउने संभवना सकिएको छ । यसकारण दलहरु नयाँ सरकार गठनको सकसपूर्ण गृहकार्यमा जुटेका छन् । कसरी सरकार बनाउने भन्नेमा नेपाली कांग्रेस र नेकपा एमाले दुवै दल दल प्रष्ट छैनन् । तर, संभावनाको खोजीमा दुवै दलका नेता जुटेको देखिन्छ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा चुनावको अन्तिम नतिजा आएपछि राजनीतिक दलहरुले संसदीय दलको नेता चयन गर्ने बताउँछन् । कांग्रेसले पनि पहिले संसदीय दलको नेता चयन गर्ने र उसैलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने बताउँछन् । थापा आफैँ पनि संसदीय दलको नेताको आकांक्षी छन् । साथसाथै, कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंह, रामचन्द्र पौडेल, डा. शेखर कोइराला छन् । आफूसमेत संसदीय दलको नेताको तयारीमा जुटेको बताउने गगन थापा भन्छन्, ‘संसदीय दलको नेता को बन्ने तय हुन्छ । त्यसपछि सोही व्यक्तिको नेतृत्वका सरकार बन्छ । सरकारमा सहभागी हुने दलहरुका सन्दर्भमा संसदीय दलको नेता स्वंम र सिंगो कांग्रेसले गम्भीर भएर दिगो निर्णय लिन्छ ।’

४ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेसको नेतृत्वमा एउटा गठबन्धन थियो । जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा थिए । यो गठबन्धनले चुनावपछि पनि गठबन्धनकै सरकार बनाउने भनी भोट मागेका थिए । गठबन्धनले साझा प्रतिवद्धतापत्रसमेत सार्वजनिक गरेको थियो । तर, दलहरुका चुनावी घोषणापत्र भने फरक फरक नै आएका थिए । फरकफरक चुनावी घोषणापत्र ल्याएको भए पनि साझा प्रतिवद्धताका टेकेर सरकारको दिशा तय गर्ने उनीहरुको सार्वजनिक प्रतिवद्धता थियो ।

तर, चुनावी परिणामले अन्तिम रुप नपाउँदै गठबन्धनमा रहेका दलका केही नेताहरुले एउटा दलको उम्मेदवारलाई अर्को दललाई भोट नदिएर असहयोग गरेको जस्तो आरोप लगाउन थलिसकेका छन् । यस्तो टिप्पणी गर्नेमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु बढ्ता छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त वाम सरकार गठनको आवश्यकता नै औँल्याएको भनी बहस हुन थालेको छ ।

रौतहट– १ बाट निर्वाचित भएपछि बिहीबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले चुनावी परिणामको समीक्षा हुने बताए । ‘अब सरकार कसको बन्छ’ भन्ने प्रश्नमा उनले ‘यत्तिकै भन्न नसकिने’ जवाफ फर्काए । अर्थात, ढुक्कले वर्तमन सत्ता गठबन्धनकै बन्छ भनेर उनले भनेनन् । त्यसपछि वाम सरकार बन्छ भन्ने पत्रकारहरुको प्रश्नमा उनले वाम एकताका लागि खुला रहेको संदेश दिए । उनले भने, ‘वामहरु सिद्धान्तका निम्ति, आदर्शका निम्ति अगाडि बढ्न चाहेका हुन् भने तिनीहरुका बीचमा एकता हुन्छ,’ उनले भनेका छन् ।

माओवादी केन्द्रका सचिव दिनानाथ शर्मा निर्वाचनको समीक्षा गरेर मात्रै सरकारमा सामेल हुने कि नहुने निर्णय लिइने बताउँछन् । उनी भन्छन्, ‘निर्वाचनको समीक्षा गरेर मात्रै सरकारमा सामेल हुने कि नहुने, कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय हुन्छ ।’

माओवादी प्रतिपक्षमा बस्नुपर्ने मत आएको पनि उनले सुनाए । ‘कतिपयले अब प्रतिपक्षमा बसेर माओवादीले संगठन र पार्टी निर्माणमा लाग्नुपर्छ भनेर पनि जोड गरिराख्नुभएको छ । त्यसैले पार्टी कसरी अगाडि बढ्ने भन्नेबारेमा पार्टीको बैठकमा छलफल र आत्मसमीक्षा गरेपछि मात्रै निष्कर्षमा पुग्छौँ ।’

तथापि, अन्तिम परिणाम आएपछि मात्रै कसको कस्तो गठबन्धन बन्छ भन्ने विषयमा धेरै विषय भर पर्ने नेताहरु बताउँछन् । यही संदेश नेकपा एमालेले पनि दिइसकेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षलाई फोन गरेर केपी शर्मा ओलीले मिलेर अगाडि बढ्न गरेको प्रस्तावलाई पनि यही रुपमा कतिपयले बुझेका छन् ।

नेकपा एमाले उपमहासचिव विष्णु रिमाल जनताले एमाले र कांग्रेस सहितका दलहरुलाई मिलिजुली काम गर्ने जनादेश दिएको बताउँछन् ।

उनी भन्छन्, सत्तागठबन्धनले बहुमत नपाउनु भनेको अर्थ जनताको रूची सत्ता गठबन्धनमा रहेन । फेरि पनि कसैलाई पनि बहुमत त आएको छैन । तिमीहरू मिलिजुली काम गर भन्ने जनमत प्राप्त भयो ।’

रिमालले भने जस्तै, कांग्रेस वा एमालेले सरकार बनाउन धेरै दलहरु मिल्नुपर्ने हुन्छ । सत्ता गठबन्धनलाई मात्रै सरकार निर्माणका लागि आवश्यक जनमत छैन । संवैधानिक व्यवस्थाअनुसार दुई वा दुईभन्दा पार्टीले बहुमत सिद्ध गरेर गएपछि राष्ट्रपतिले प्रधानमन्त्री बन्नलाई आमन्त्रित गर्छन् । यस्तो अवस्थामा सत्ता गठबन्धनले के गर्छ त्यसपछि कदम चाल्ने एमालेको नीति छ । तर, त्यसअघि एमालेले पनि सरकार गठनको संभवनालाई ख्याल गर्दै गृहकार्य अगाडि बढाएको छ ।

एमाले स्वंम कांग्रेससँग छलफल गर्न तयार रहेको उनी बताउँछन् । उनी थप्छन्, ‘अहिलेको चुनौती सरकार कसले बनाउनेभन्दा पनि स्थिरता कसरी दिने भन्ने कुरा प्रमुख हो । स्थिरताका लागि कांग्रेस र एमाले सँगै बसेर कुरा गर्न जरुरी छ । नेपाली कांग्रेस मुलुक र प्रजातन्त्रलाई कसरी सुदृढ बनाउन चाहन्छ भन्ने विषयमा ऊसँग हामी रचनात्मक छलफल गर्न तयार छौँ । अहिले हामी टाउको गन्ने र संख्या पुर्याएर प्रधानमन्त्री खाने स्थितिमा छैनौँ ।’

रिमाला अनुसार एमालेले मिलिजुली सरकार चलाउने सन्दर्भमा कांग्रेसँग कुरा गर्न चाहेको छ । यसका पछाडि राजनीतिक स्थितरता दिने तर्क गरिएको छ । उनी भन्छन्, ‘सरकारका बारेमा दुई–तीन वटा विकल्प हुन सक्छन् । कांग्रेसले सत्ता गठबन्धनले नै बहुमत पु¥याउन सक्छ भन्यो भने हामी प्रतिपक्षमै बस्न तयार छौँ । दुई वटा पार्टीले सरकार सञ्चालनको मोडलबारे छलफल गरेर निष्कर्ष निकाल्ने र त्यसमा जाने हो । अहिलेको मतबाट कुनै पनि दल किङमेकर बन्दैन ।’

माओवादी केन्द्र निर्णायक बनेन । माओवादीकै बराबरको अर्को पार्टी उदाय भएको छ । कांग्रेसले माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई समावेश गरायो भने केही झमेला गर्नै परेन । राष्ट्रिय स्वतन्त्र पार्टीलाई ल्याउन नसकेको अवस्थामा अर्को विकल्पबारे कांग्रेस र एमालेले छलफल गर्नुपर्ने रिमाललाई लाग्छ ।

उनी भन्छन्, ‘सांसद किनबेचको संस्कारलाई प्रर्वद्धन गर्ने ढंगले कांग्रेस र एमाले अघि बढेमा अस्थिरता र बेथिति अघि बढ्छ । यसकारण अस्थिरता र बेथिति आउन नदिन कांग्रेस र एमालेले नै छलफल गर्नुपर्यो ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =