सोचेजस्तो भएन निर्वाचन, ६० प्रतिशत मत खस्न पनि मुस्किल

काठमाडौँ । विगतको चुनावहरु हेर्दा मतदातामा उत्साह देखिन्थ्यो, तर अहिलेको चुनावमा त्यस्तो कुनै उत्साह देखिएन । विगतको चुनावमा खसेजति मत अहिलेको चुनावमा खसेन । युवा मतदाताहरुको सहभागी निकै कम देखियो ।
विगतको चुनाव उत्साहपूर्ण भए पनि अहिलेको चुनाव निराशापूर्ण देखिएको थियो । अहिलेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा चुनावको उत्साह निकै कम थियो । विगतको चुनावमा ७० प्रतिशत मत खसेको अनुभव थियो भने अहिले ६० प्रतिशत आसपास मत खसेको अनुमान गरिएको छ। मतदातामा छाएको निराशाका कारण नै यसपटक मत कम खसेको आकलन गरिएको छ ।
निर्वाचन बहिष्कार गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ठाउँठाउँमा गरेको अवरोधका कारण पनि मत कम खसेको बताइएको छ । तर त्यो भन्दा पनि युवाहरुमा उमेदवारप्रति नै निराशा आयो, जसलाई जिताए पनि केही हुँदैन भन्ने भावना विकास भयो, जसले गर्दा यसपटक मतदातामा उत्साह देखिएन, निराशामात्र भेटियो ।
२०७४ सालमा प्रतिनिधि तथा प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो । मंसिर १० र २१ गते दुई चरणमा भएको निर्वाचनमा ६८.६७ प्रतिशत मत खसेको थियो। अहिले मुस्किलले ६० प्रतिशत पनि मत नखस्ने देखिएको छ, यद्यपी अहिलेको खसेको मतको प्रतिशत आउन बाँकी छ । २०७० सालमा भएको चुनावमा ७८.३४ प्रतिशत मत खसेको थियो। गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पनि झन्डै ७० प्रतिशत मत खसेको थियो ।









