सकियो मतदानको पूर्वनिर्धारित समय, मतदातामा देखिएन उत्साह

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा अन्तर्गत निर्वाचनको पूर्वनिर्धारित समय देशैभर एकै चरणमा सकिएको छ ।
निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो ।
देशका अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
तर, यो निर्वाचनमा मतदाताको सहभागिता उत्साहजनक देखिएन। अहिले सम्ममा ६५ प्रतिशत आसपास मत खसेको अनुमान गरिएको छ।
यस पटकको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता भोट हाल्न योग्य ठहरिएका थिए ।
निर्वाचनको जानकारी भने आज साँझ ७:३० बजे पत्रकार सम्मेलन मार्फत गर्ने आयोगले जनाएको छ ।
यद्यपि ५ बजेसम्म मतदान स्थल भित्र प्रवेश गरिसकेका मतदाताहरूले केही अबेरसम्म पनि मतदान गर्न पाउने छन् । केही मतदान स्थलमा विवादका कारण रोकिएकाले ती स्थानमा मतदान गराउने प्रयास जारी छ ।
दोलखा, बाजुरा, सिरहा, नवलपरासी पूर्व लगायतका स्थानमा मतदान रोकिएको छ । ती स्थानमा मतदान सुरु गराउन प्रयास भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
मतपत्र फरक पर्दा केही बेर रोकिएको दाङको तुलसीपुरस्थित पातु बनगाउँ मतदान केन्द्रमा बेलुका सात बजेसम्मै मतदानको समय तोकिएको छ ।
मधेस प्रदेशमा भने कुनै पनि मतदान केन्द्रमा मतदान स्थगन नभई सम्पन्न भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार मतदान सम्पन्न भएका स्थानबाट मतपेटिका संकलनको काम जारी छ साथै, आजै बेलुकादेखि मतगणना सुरु गर्ने तयारी भईरहेको छ ।








