शान्तिपूर्ण निर्वाचन : फक्रिँदो प्रजातन्त्र

काठमाडौँ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आज मतदान हुँदैछ । आजको निर्वाचनलाई इतिहासकै शान्तिपूर्ण निर्वाचनका रूपमा लिन्छन् सरोकारवालाहरू ।
विगतमा ठूला समूहहरू निर्वाचनको विपक्षमा हुन्थे । यसपटक पनि केही समूह निर्वाचन बहिष्कारको पक्षमा छन् । तर, मतदानको दिनसम्मको चुनावी वातावरण नियाल्दा निकै सौहार्द रहेको सरोकारवालाहरू बताउँछन् ।
पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल विकसित मुलुकको जस्तो निर्वाचन प्रणाली होस् भन्ने सबैको अपेक्षा अनुसारको गति मै चुनावी वातावरण बनेको देख्छन् । प्रजातन्त्रको अभ्यासको बाटोमा हिँडेपछि निर्वाचन प्रणालीमा सुधार आएको उनलाई लाग्छ ।
निर्वाचन व्यवस्थापनमा सुधार, राजनीतिक दलहरूले आचारसंहिताको बाटोमा हिँडेको र कर्मचारीहरूमा जागरूकता आएको उनी दुख्छन् । पोखरेलले निर्वाचन आचारसंहिता पालना गर्ने विषयमा हालसम्म कतै समस्या नआएको बताए । विगतको तुलनामा चुनावी वातावरण शान्तिपूर्ण रहेकाले पनि मतदाताहरू उत्साही रहेको पोखरेल बताउँछन् । निर्वाचन पूर्वको अवस्था उत्साहजनक र शान्तिपूर्ण रहेको उनको भनाई छ ।
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा साँच्चै प्रजातन्त्रको सही प्रयोग भएको जस्तो आभास भएको ठान्छिन् । उनी भन्छिन्, ‘फक्रिँदो प्रजातन्त्रको आभास हुन्छ ।’ उनले निर्वाचनमा विगतमा जस्तो सबैतिर प्रचारप्रसारका सामग्रीहरू टाँस्ने प्रवृत्ति नदेखिएको बताइन् ।
कार्की निर्वाचन आचारसंहिता पालना गर्ने विषयमा उम्मेदवार र पार्टीहरू सजग देखिएको सुनाउँछिन् । निर्वाचन आचारसंहिता पालना गर्ने विषयमा आयोग कडा रूपमा प्रस्तुत भएको उल्लेख गर्दै कार्कीले स्थानीय तहको निर्वाचनको अनुभवले जनता धेरै अनुशासित रहेको देखाएको बताइन् । उनले निर्वाचनमा प्रजातन्त्रको परिपालना भएको देखिएको बताइन् । पैसाको चलखेल हुने भनिए पनि देखिने गरी कतै पनि त्यस्तो नदेखिएको उनलाई लाग्छ ।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ निर्वाचनको अवस्था निर्वाचनभन्दा अघिसम्म शान्त र नियमित दैनिकी स्थितिमा रहेको बताउँछन् । राजनीतिक पार्टीका उम्मेदवारहरुले निर्वाचन आचारसंहिताअनुसार मौन अवधिको राम्रो रूपमा परिपालना भएको पनि देख्छन् ।
- आम निर्वाचन पर्यवेक्षण समिति नेपालले शुक्रबार राजधानीमा गरेको चुनावी वातावरणसम्बन्धी व्यक्त तीन विज्ञको धारणा
प्रजातन्त्र परिपक्व हुँदै गएको छ सुशीला कार्की : पूर्व प्रधानन्यायाधीश
म काभ्रेपलान्चोक क्षेत्र नम्बर एकको ५-७ मतदान केन्द्रको अवलोकनमा गएको थिएँ । हामी जाँदा बाटोको वातावरण नै एकदम शान्त थियो । पोस्टरहरू आदि इत्यादि काहीँ पनि देखेनौँ । त्यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तर्फ १७ जना उम्मेदवार हुनुहुँदो रहेछ । प्रदेशमा ९–९ जना उठ्नुभएका रहेछ । हामीले त्यहाँ उपसचिव दुर्गा प्रसाद खनाललाई भेट्यौँ । समस्या के छ, वातावरण के भनेर जानकारी लिने प्रयास ग-यो ।
समष्टिगत रूपमा निर्वाचन त्यस क्षेत्रमा राम्रैसँग हुने अनुमान गरियो । तयारी पनि भइरहेको रहेछ । हामी त्यहाँ पुग्दा मतपत्रहरू वितरण भइरहेको थियो । बिहान हामी सवा ९ बजे पुग्दा सबै मतदान अधिकृतहरू पनि हामी पुगेको ठाउँमा भेला भइरहनुभएको थियो ।
हामीले अन्यलाई पनि सोध्यौँ समस्या के छ भनेर । त्यस्तो ठूलो समस्या पाएनौँ । महाभारत गाउँपालिकामा दुइटा केन्द्र रहेछ । १२ जना कर्मचारी तोकिएर जानुभएको रहेछ । १२ जना अट्ने ठाउँ र बाकस राख्नका लागि साँघुरो एरिया प¥यो भन्नुहुन्थ्यो । तथापि, व्यवस्थापन गर्ने उहाँहरूको कुरा थियो । नगरपालिकाले पन सहयोग गरेको रहेछ । अन्यथा, थप समस्या नरहेको सुनाउनुभयो ।
राजनीतिक दलका नेता-कार्यकर्ताहरूलाई तपाईँहरूको के कस्तो छ समस्या भनेर सोध्या अनुकुल रहेको, राम्रो रहेको बताउनुभयो । त्यस्तो कहीँ केही गुनासोहरू पाइएन । काभ्रेमै महाभारत र खानीखोला छ । यो असाध्यै विकट रहेछ । हिँडेर जानुपर्ने रहेछ । सुरक्षार्थ डिएसपीको कमाण्डमा ३१ जना रहेछन् ।
हिजो राती भकुण्डेबेसीमा कसैले प्रेसर कुकर बम राखेको रहेछ । डिस्पोज गरेछन् । थप समस्या देखिएको छैन । मतदाताहरूसँग कुरा गर्दा उम्मेदवारहरुबीच निकै कडा प्रतिस्पर्धा भएको र प्रचलित व्यक्तिहरू भएको हुनाले केही विवादहरू उठ्लान् कि भन्ने रहेछ । अरू समष्टिगत रूपमा राम्रो कुरा गर्नुभएको छ । मत दिन जाने कुरा सबैले गर्नुभएको छ । पर्चा पोष्टरका कुरा देखि अन्य गतिविधिलाई हेर्दा पनि शान्त छ, शान्त वातावरणले यसपटकको निर्वाचनमा मलाई त निर्वाचन भइराखेको छ कि छैन भने जस्तो लागिरहेको छ ।
शान्त छ चुनावी वातावरण । साँच्चै भन्ने हो भने यो विषयमा नेपालमा प्रगति भएको हो । निर्वाचनपछि कस्तो वातावरण बन्ला त्यो निर्वाचन पछिको कुरा हो । निर्वाचन अगाडिको वातावरण एकदमै राम्रो छ । निर्वाचन आयोगले कडा गर्नुपर्ने ठाउँमा कडा गरेकै छ । तथापि, केही गुनासाहरू आउँछन् । कडा भयो भनेर पनि गुनासा गरेका छन् । तर, निर्वाचनको हकमा वातावरण अनुकूल छ । स्थानीय तहको निर्वाचन पनि एकदमै अनुशासित लागेको थियो ।
यसपटकको निर्वाचनमा पनि प्रजातन्त्रको विकास, परिपक्वता भएको अनुभूत छ । किनभने, पैसाको चलखेल त्यस्तो खुला रूपमा काहीँ पनि देखिँदैन । बाहिर हेरेरै निर्वाचन हो भन्ने पनि लाग्दैन, न पर्चा छ, न पम्प्लेट छ, न मान्छेहरूको त्यस्तो प्रचार प्रसार छ । मौन अवधिमा पनि ग्रुप ग्रुप बनाएर भोट माग्ने प्रवृत्ति विगतमा थियो । यसपटक मौन अवधिको परिपालना भएको छ । ज्यादै राम्रो देखिएको चुनाव अगाडिको वातावरण । यो वातावरण परिणाम आउँदासम्म रहँदा हाम्रो प्रजातन्त्र साँच्चै परिपक्व हुँदै गएको प्रष्ट देखिन्छ ।
हाम्रो उपलब्धिमा बाह्य मुलुकले आरिस गर्छ भोजराज पोखरेल : पूर्वप्रमुख निर्वाचन आयुक्त
६ वटा जति ठाउँ (मतदान केन्द्र)मा गएको थिएँ । त्यहाँ पुग्दा खुसी भएँ । कर्मचारीहरू ठाउँ ठाउँमा पुगेका छन् । सुरक्षाकर्मीहरू तम्तयार भएर बसिराखेका छन् । काहीँ केही समस्या छ कि भनेर हेर्दा त्यस्तो केही पाइएन ।
राजनीतिक दलका कार्यकर्ताहरूलाई पनि केही समस्या छ कि भनेर बुझ्दा हाम्रोमा त्यस्तो केही समस्या छैन भन्ने जवाफ दिनुभएको छ । आत्तिनुपर्ने छैन भन्ने नै छ । मतदाताहरूसँग कुरा गर्दा पनि ठिकै छ, अब मतदान गर्ने हो भन्नुभएको छ । अर्थात्, शान्तिपूर्ण तयारी रहेछ भन्ने अनुभूत भएको छ । यस अनुकूल व्यवस्थापन भएको रहेछ भन्ने परेको छ । केही समय अगाडि मात्रै (३० वैशाखमा) स्थानीय तहको निर्वाचन भयो । आइतबार प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । यसबीचमा दशैं, तिहार जस्ता ठूला चाडपर्वहरू पनि परे । यसबीचमा पनि मतदाता र उम्मेदवारका बिचमा भलाकुसारी भए ।
उम्मेदवारी दर्ता पछि र प्रचारप्रसारको अवधिमा पनि मतदाता र उम्मेदवारका बिचमा भेटघाट भए होलान् । तै पनि पर्चा पम्लेट, तडक भडक त्यस्तो केही पनि छैन । यी सबै कुराले देखाउँछ- प्रजातन्त्रको अभ्यासमा हामी ‘मेचुअर्ड’ हुँदै गयौँ । व्यवस्थापनमा दक्षता अभिवृद्धि भएको छ । राजनीतिक दलहरू प्रजातान्त्रिक संस्कारको बाटोमा हिँड्नुपर्छ भनेर यही बाटोमा हिँड्न थालेको अनुभूत हुन्छ । मतदाताहरूमा पनि जागरण आएको छ । कर्मचारीहरूमा विश्वास बढेको छ ।
तयारी कस्तो छ भनेर मतदान केन्द्रका कर्मचारीहरूलाई सोध्दा थोरै केही बाँकी छ सबै भइहाल्छ, भोलिसम्म सबै ठिकठाक भएर पर्सी मतदान गराउँछौँ भनेर ढुक्कले जवाफ दिइरहेका छन् । यो भनेको प्रजातन्त्रको मेचुरिटी हो । हामीले खोजेको पनि प्रजातन्त्रको लामो अभ्यास भएका देशहरूको जस्तो चुनावी वातावरण हो । ती देशहरूमा जस्तो खालको वातावरणमा चुनाव हुन्छ त्यस्तै खालको चुनाव होस् भन्ने हो । त्यो बाटोमा पुग्नका लागि ती देशहरूलाई सयौँ वर्ष लाग्यो होला, सयौँ वर्षको प्रजातन्त्रका अभ्यासले सौहार्द चुनावी वातावरणको बाटोमा पुग्यो होला ।
नेपाल पनि ३०/३२ वर्षको अभ्यासमा अहिलेको अवस्थामा आइपुगेका छौँ । अहिलेको जुन वातावरण देखिएको छ यसलाई निरन्तरता दिने हो भने सयौँ वर्ष प्रजातन्त्रको अभ्यास गरेकाहरूको जस्तो वातावरणमा चुनाव गराउने ठाउँमा पुग्नका लागि नेपाललाई धेरै समय लाग्दैन । निर्वाचन आचारसंहिताको विषय छ । यस विषयमा पनि त्यस्तो समस्याहरू केही आएनन् । ०६४ सालमा कम्प्रिहेन्सी आचारसंहिता तयार गरियो । पोष्टर टाँस्न हुँदैन भनेर राख्दा अगाडि बढ्दा कति गाह्रो भएको थियो । अहिले अभ्यासले पर्चा, पम्प्लेट टाँस्न हुँदैन भन्ने महसुस भएको छ । ०६४ मा यो अति चुनौतीपूर्ण थियो । तर, समय अनुसार सबैले महसुस गर्नुभएको छ ।
अहिलेको मुख्य चुनौती भनेको दुईटा छन् । एउटा- पैसा । अर्को- सामाजिक सञ्जाल । निर्वाचन महँगो भयो । कसरी महँगो भयो यो विषय छ । साथसाथै, सामाजिक सञ्जालले चुनावी परिणामलाई हाइज्याक गर्छ कि भन्ने धेरैलाई चिन्ता छ । आगामी दिनमा पनि यो विषयलाई ख्याल गर्नुपर्ने देखिन्छ ।
यी विषय पनि सम्बोधन हुन्छन् । चुनावी संस्कारले खुसी बनाएकै छ । पर्चा पम्प्लेटसहितको तडक भडक रोक्ने गरी जग बसाउन खोज्दा ०६४ मा धेरै गाह्रो भएको थियो । तथापि, रणनीतिक रूपमा नै जानुपर्छ भनेर निर्वाचन आयोग अगाडि बढ्यो । आयोगको त्यो रणनीतिक योजना अनुसार काम गर्दै जाँदा अहिले धेरै राम्रो भएको छ । मलाई विश्वास छ- अबको केही चुनावसम्म पुग्दा हाम्रो अवस्था धेरै नै सुध्रिसकेको हुनेछ ।
हाम्रो उपलब्धिहरूप्रति बाह्य मुलुकहरू पनि आरिस गर्छन् । जस्तै- हाम्रोमा जस्तोसुकै अप्ठ्यारो समयमा पनि निर्वाचनको माध्यमबाट सत्ता हस्तान्तरण भएको छ । अप्ठ्यारो भनिएका बेला पनि सफल निर्वाचन भएको छ । निर्वाचनको सामान नपुगेर, कर्मचारी नपुगेर निर्वाचन हुन नसकेको अवस्था इतिहासमा छैन । यी लगायतका हाम्रा उपलब्धिहरू छन् यसप्रति हामीले पनि गौरव गर्नुपर्छ । र अन्तिममा–आइतबारको निर्वाचनका लागि राष्ट्र तयार छ ।
सबै क्षेत्र कति खेर मतदान गरौँ भनेर तयार रहेको पाएको छु । यो किसिमको माहौल निर्वाचन र मतगणनासम्म निरन्तर रहनुपर्छ । सबैलाई मतदानमा सहभागी भएर निर्वाचनलाई सफल पार्नका निम्ति सबैमा आग्रह गर्दछु ।
भड्किलो हैन, सभ्य छ निर्वाचन कल्याण श्रेष्ठ : पूर्व प्रधानन्यायाधीश
यसपटक निर्वाचन अनुगमनको क्रममा पर्चा पम्लेट टाँसेको देखिएको छैन । हुल हुज्जत हुने गरी प्रचार भएको पाएनौँ । शान्त तरिकाले प्रचार भएको पाइयो । निर्वाचनलाई असर गर्ने गरी कोही पनि आन्दोलित हुने अवस्थाको सिर्जना भएको पाइएन । मौन अवधिको पालना राम्रैसँग भएको मलाई लागेको छ ।
राजनीतिक दल र कार्यकर्ताहरूले आफूले जे जे भन्नुपर्ने हो, मतदातालाई भनिसक्नुभएको छ । उम्मेदवारले आफ्नो कार्य सकेका कारणले अब पालो मतदाताको हो । मतदाताहरूले आफूले पाएको सूचना र जानकारीको आधारमा आफ्नो विवेक प्रयोग गर्ने हो । आफ्नो निर्णय गर्ने अधिकार उहाँहरूमा छ । मतदान समय जिताउने क्षण पनि हो ।
मतदान अविचलित, हस्तक्षेपमुक्त हुनुपर्दछ । प्रजातन्त्रको नाममा मतदाताले निर्णय लिने समय निर्वाचन हो । मतदानको बेला मतदातालाई विचलित बनाउने कार्य कतैबाट पनि नहोस् भन्नेमा हामी सबै विश्वस्त छौँ । गत संसदीय तथा स्थानीय तहको निर्वाचनमा पनि अवलोकन गर्न पाएको थिएँ । समयक्रम अनुसार निर्वाचनको पद्धति विकसित भएको तथा व्यवस्थित हुँदै गएको पाइरहेको छु । यो आजको आज नै सुधार सम्भव भएको होइन । निरन्तरको प्रयासले सम्भव भएको हो । धेरै खर्चिलो र भड्किलो निर्वाचन भयो भन्ने अहिले सुनिएको छैन ।
शान्त, स्वच्छ र जबाफदेही तरिकाले निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचन आयोग र यस कार्यका लागि खटिएकाहरूलाई धन्यवाद दिनैपर्दछ । हाम्रो प्रजातन्त्र सुरक्षित हुँदै गएकोमा भरोसा बढेको छ । जनताको निर्णय क्षमता बढ्दै गएको छ । प्रजातन्त्र दिगो हुँदै गएको छ । राजनीतिक दलका नेताहरूले आफ्नो जिम्मेवारी बुझ्दै गएको हो कि भन्ने मलाई परेको छ ।
खर्चिलो, भड्किलो निर्वाचन पद्धतिबाट सभ्य निर्वाचन बनाउनतिर लागिरहेको भान भएको छ । अल्पविकसित हाम्रो जस्तो देशमा यस्तो दाबी गर्न कतिपय अवस्थामा नमिल्न पनि सक्ला । निर्वाचन प्रक्रिया संस्थागत, रूपान्तरित हुँदै जानु महत्त्वपूर्ण कुरा हो । मतदातालाई जतिसक्दो सहजता ल्याउनुपर्दछ । मतदाता परिचयपत्र अब अवरोधक रहेन । अन्य परिचयपत्र ल्याएर मतदान गर्न सकिने अवस्था बनेको छ । यसलाई पनि म सकारात्मक पक्षका रूपमा लिएको छु ।
तथापि, मन्दिर परिसर र अस्पतालहरूमा मतदान केन्द्र नराखेको भए हुने थियो भन्ने मलाई लाग्छ । उपचारको क्रममा आएका नागरिकले उपचार नपाउने वा निर्वाचन प्रक्रियाले गर्दा असर पर्ने हुनसक्छ । यसमा विकल्प खोजेर सहजीकरण गर्न उपयुक्त हुन्छ । यसलाई कसरी सहज बनाउन सकिन्छ, त्यसमा ध्यान दिऊँ । अपाङ्ग वा जेष्ठ नागरिकलाई सजिलो तरिकाले मतदान गर्ने व्यवस्था मिलाउनु पर्दछ । आचार संहित लागू भएको छ । आचार संहिता कार्यान्वयनमा आयोगले राम्रै प्रयास गरेको छ । दलका नेता र राजनीतिक दलहरूले द्वन्द्वको अवस्था सिर्जना गरेको देखिएन ।
शान्तिपूर्ण तरिकाले मतदान हुने जुन वातावरण निर्माण भएको छ । यो प्रजातन्त्रको लागि सुखद पक्ष हो । सामाजिक सञ्जालमा देखिएका कतिपय विषयलाई कसरी नियमन गर्ने तिर सोचौँ । सामाजिक सञ्जालमा आएका कुरालाई सुरुमै रोक्न पनि सकिन्न । समस्या छ, तर त्यसलाई कसरी व्यवस्थित बनाउने तिर लाग्नुपर्दछ । यस निर्वाचन र पछि आउने निर्वाचनका लागि पनि सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने कार्य गर्नुपर्दछ । आजको दिनसम्म हेर्दा निर्वाचनको तयारी शान्त देखिन्छ । निष्पक्ष र धाँधली रहित निर्वाचन होला भनी आशा राख्न सकिन्छ ।








