भोट हाल्न ३ घण्टाको पैदल

पोखरा । गोरखामा मतदानका लागि लामो समय पैदल हिँड्नुपर्ने भएको छ । उत्तरी गोरखाका धेरै मतदान केन्द्रहरू पुग्न बस्तीबाट कम्तीमा ३ घण्टाको दुरी हिँड्नुपर्ने त्यहाँका मतदाताहरूले बताएका छन् । धार्चे ३ लाक्पालका स्थानीय दुङ्ला आधारभूत विद्यालयमा पुग्नुपर्छ । यसअघिको पार्वती आधारभूत विद्यालय मतदान केन्द्र पुग्न ४ घण्टा लाग्थ्यो । अहिले नजिक सारिएको मतदान केन्द्र पनि कम्तीमा ३ घण्टाको दुरीमा रहेको स्थानीय केतानी गुरुङले बताइन् ।

बाटो उकालो भएकोले जाँदा धेरै समय लाग्ने उनको भनाई छ । ‘ठाडै उकालो बाटो छ । कस्सिएर हिँडेपनि ३ घण्टा कम्तीमा लाग्छ,’ उनले भनिन्, ‘फर्किँदा २ घण्टामा झरिन्छ । युवा युवती बाहेक अरू भोट हाल्न जान सक्दैनन् ।’ सोही वडाको खोर्लाबेशीका मतदातालाई पनि सात कन्या मावि मतदान केन्द्र पुग्न ३ घण्टा भन्दा धेरै समय हिँड्नुपर्छ ।

वडा नम्बर ७ ठाँटीका बासिन्दा तीनघण्टा नै हिँडेर भीरकुना पुग्नु पर्छ । धार्चे १ यारुका मतदातालाई इच्छा आधारभूत विद्यालय मतदान केन्द्र पुग्न कम्तीमा दुई घण्टा उकालो हिँड्नुपर्छ । चुमनुब्री गाउँपालिकाका धेरै मतदातालाई मतदान गर्न कम्तीमा २ देखि ३ घण्टासम्म हिँड्नु पर्छ ।

चुमनुब्री ६ लोक्पाका नागरिकलाई ३ घण्टा हिँडेर सिम्चेत पुग्नुपर्छ । पुरानो संरचनाका साबिक वडा हुँदा निर्धारण गरिएको मतदान केन्द्र अहिले परिमार्जन नहुँदा मतदातालाई सास्ती भएको वडाध्यक्ष सरोज लामाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eight =