सर्वेन्द्र खनाल : ‘दबङ’ शैलीको छवि बचाउने प्रयास

काठमाडौँ । नेपाल प्रहरीमा डीआईजी हुँदासम्म ‘दबङ’ शैलीको छवि बनाएका चर्चित अधिकृत थिए, सर्वेन्द्र खनाल । उनी नेपाली फुटबलको म्याच फिक्सिङ प्रकरण र गुण्डागर्दी नियन्त्रणका कारण बढी चिनिएका थिए । २०७४ चैतमा प्रहरी महानिरीक्षक भएपछि भने अवस्था त्यो रहेन, उनी एकपछि अर्को विवादमा मुछिन थाले ।

खनाल आईजीपी भएको दुई महिनामै सुन तस्करीमा माथिल्ला तहका प्रहरी अधिकृतहरूको संलग्नता उदांगियो । सुनकाण्डको प्रारम्भिक अनुसन्धान गरेको अपराध अनुसन्धान महाशाखाको टोली नै आरोपित बन्यो । अनुसन्धानकर्ताहरू नै थुनामा पुगे ।

त्यो सारा प्रकरणमा मौन बसेको, अनुसन्धान प्रतिवेदन अलपत्र पार्न सघाएको आरोप आईजीपी खनाललाई लाग्यो । त्यसैबीच उनले सुन प्रकरणका एक आरोपीसँग गोप्य भेट गरेको खुलासा भयो ।

आईजीपीमा खनालको बढुवालगत्तै डीआईजी रमेश खरेलले ‘नालायक नेतृत्व’ भन्दै राजिनामा दिएका थिए । खनालको कार्यकालमा प्रहरीको आन्तरिक सरुवा–बढुवामा राजनीतिक हस्तक्षेप उस्तै रह्यो । प्रहरीभित्र ध्रुवीकरण पनि उनको अवकाशसम्मै कायम रह्यो । संगठनको हितभन्दा राजनीतिक नेतृत्वको प्यारो बन्ने काम गरेको आरोप आईजीपी खनाललाई लाग्यो ।

रमेश खरेलले संगठन छाडेपछि प्रहरीमा आईजीपी खनाल र दोस्रो वरीयताका एआईजी पुष्कर कार्कीबीच चर्को ध्रुवीकरण देखियो । कार्कीलाई मिलाएर लैजानुको साटो उनको पक्षका भन्दै कतिपय अधिकृतलाई कारबाही गर्न अग्रसर भए खनाल ।

आईजीपी बन्ने बेला उनलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बलियो साथ थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको पुष्कर कार्की र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सद्भाव रमेश खरेलप्रति थियो । ओली पछिसम्मै खनालप्रति रुष्ट रहे ।

कार्यकालको पछिल्लो अवधिमा भने महेश बस्नेतमार्फत ओलीसँग खनाल नजिकिए । आईजीपीबाट अवकाश पाएको केही समयपछि जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा मुछिए खनाल ।

कोरोना महामारी नियन्त्रणका लागि लकडाउन गरिएका बेला खनाल, महेश बस्नेत र किसान श्रेष्ठ धनुषा पुगेर यादवलाई ‘उठाएर’ काठमाडौं ल्याएका थिए । त्यतिबेला जसपाले आफ्ना सांसदलाई अपहरण गरेको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा खनाललाई समेत प्रतिवादी बनाएर अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा किटानी जाहेरी दिएको थियो ।

गत ६ असोजमा एमालेको च्यासलस्थित कार्र्यालयमा आयोजित कार्यक्रमबीच पार्टी प्रवेश गर्दा पूर्वआईजीपी खनालले भनेका थिए, ‘देश–विदेशका नेपालीको आस्थाको केन्द्र र समृद्ध नेपाल सुखी नेपाली नाराका प्रणेताको हातबाट नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा हर्षविभोर छु ।’

एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभाको लागि काठमाडौं–६ को टिकट यिनै खनाललाई दिएका छन्, जहाँ नेपाली कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान प्रतिस्पर्धी छन् ।
गत स्थानीय निर्वाचनमा वडाअध्यक्षहरूले ल्याएको मत परिणाम हेर्दा काठमाडौं–६ मा कांग्रेस अगाडि देखिन्छ । कांग्रेसले १७ हजार २७७, एमालेले १४ हजार ३०३, माओवादी केन्द्रले २ हजार ४६२ र एकीकृत समाजवादीको १ हजार ८५९ मत छ ।

यो चुनावी अंकगणितले एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई बलियो अवस्थामा देखाउँदैन । कांग्रेसभित्र विवाद र माओवादीले गरेको विद्रोहले भने उनलाई केही अनुकूलता सिर्जना गरिदिएको छ ।

त्यसो त, विवादास्पद नवप्रवेशीले एकजना पार्टी अध्यक्षलाई रिझाएर टिकट लिएको भन्दै एमालेभित्रकै पनि एउटा तप्का खनालसँग रुष्ट छ । काठमाडौं–६ को चुनावी मैदानमा प्रधान र खनालसँगै स्वतन्त्र उम्मेदवार शिशिर खनालले पनि प्रचार अभियान बढाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nine =