आम निर्वाचन २०७९

चुनाव प्रचारको अन्तिम दिन : शीर्ष नेताहरूले कहाँ-कहाँ गर्दैछन् सम्बोधन ?

काठमाडौँ । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रचार प्रसारको समय आज सकिंदैछ । आज राति १२ बजेदेखि ‘स्थिर अवधि’ शुरु हुने भएकाले सबैजसो दलहरूले आज चुनाव प्रचार-प्रसारको अन्तिम सभा गर्दैछन् ।

सत्तारुढ गठबन्धनले आज काठमाडौँमा बृहत् चुनावी सभा गर्दैछ । गठबन्धनको काठमाडौँ क्षेत्र नम्बर-२ चुनाव परिचालन समितिको आयोजनामा दिउँसो २ बजे कोटेश्वरमा अन्तिम चुनावी सभा हुन लागेको हो । सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर-२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

४ मंसिरमा हुने निर्वाचनका लागि काठमाडौँ-२ मा गठबन्धनबाट पूर्व सभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य घर्ती, प्रदेशसभा (क) मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल उम्मेदवार छन् ।

चुनावी प्रचारकै क्रममा गृह जिल्ला झापामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज झापामा आयोजना हुने दुई सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नम्बर १ को काँकडभिट्टा र निर्वाचन क्षेत्र नम्बर ५ को खजुरगाछीमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

त्यसैगरी सुदूरपश्चिममा रहेका प्रधानमन्त्री एवंम कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सुदूरपश्चिमका दुईवटा चुनावी सभामा सहभागिता जनाउने भएका छन् । उनले आज अछाम र कञ्चनपुरका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =