प्रधानमन्त्रीको भिडिओ सन्देश- ‘निर्वाचनको ऐतिहासिक महायज्ञ सफल पार्न उत्साहपूर्वक सहभागी बनौँ’

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गतेको निर्वाचनमा सहभागी भएर लोकतन्त्रको उत्सव मनाउन मतदातालाई आग्रह गरेका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा रहेको बताउँदै निर्वाचनको ऐतिहासिक महायज्ञ सफल पार्न आग्रह गरेका हुन् ।

देउवाले लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा रहेको बताएका छन् । ‘निर्वाचनलाई सफल पार्न हामी सबैको दायित्व हो । राणा शासनविरुद्धको अहिलेसम्म मुलुकले राजनीतिक संघर्षको एउटा चरण पूरा गरिसकेको छ,’ मौन अवधि शुरु हुन केही घण्टा बाँकी छँदा भिडिओमार्फत शुभकामना सन्देश जारी गर्दै देउवाले भनेका छन् ।

अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने उनले बताए । देउवाले कांग्रेस मुलुकमा भएका हरेक सामाजिक, सांस्कृतिक आन्दोलनको नेतृत्व गरेको पार्टी रहेको स्मरण गराएका छन् । ‘अब मुलुकलाई आर्थिक समृद्धितिर अगाडि बढाउने दायित्व पनि कांग्रेसको हो,’ उनले भनेका छन्, ‘४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उत्साहपूर्वक सहभागी भई गठबन्धनको पक्षमा मत दिन अनुरोध छ ।’

सहमति र सहकार्यको जगमा गठबन्धन सरकार गठन भएको र त्यही सूत्रका आधारमा मुलुकलाई अघि बढाउन दृढसंकल्पित रहेको बताउँदै प्रधानमन्त्रीले भनेका छन्, ‘हामी कुरा होइन काम गर्नेछौँ भन्नेमा विश्वास दिलाउँदै निर्वाचनलाई लोकतन्त्रको उत्सवको रूपमा लिन अपिल गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =