पृथ्वीसुब्बा : सधैँ संघप्रति ‘चोरऔंला’ ठड्याउने मुख्यमन्त्री

पोखरा । लमजुङ क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित हुँदै गण्डकीको संस्थापक मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङको परिचय एमालेको नेता मात्रैमा सीमित छैन । उनको पहिचान संघबाट सधैँ अधिकार खोस्न प्रयत्न गर्ने मुख्यमन्त्री हो । आफ्नो कार्यकालभरि आफ्नै पार्टीको नेतृत्वमा रहेको संघ सरकारबाट अधिकार प्रदेशमा विकेन्द्रिकृत गर्न ‘चोर औँला’ उठाइरहे ।

गण्डकीको मुख्यमन्त्रीबाट सत्ताच्यूत भएका पृथ्वीसुब्बा गुरुङ फेरि मुख्यमन्त्री हुन चाहन्थे । संघीयतालाई बलियो बनाउन संघीय सरकार अनुदार भएको भन्दै कार्यकालभरि केन्द्रतिर ‘चोरऔंला’ ठड्याएका पृथ्वीसुब्बालाई यो चुनावमा नेतृत्वले सबक सिकाउने हतियार चलायो । प्रदेशमै रहेर प्रदेश संरचना सबल बनाउन चाहन्थे उनी ।

फेरि मुख्यमन्त्री हुने पृथ्वीसुब्बाको योजनालाई इन्कार गर्दै एमाले शीर्ष नेतृत्वले लमजुङबाट प्रतिनिधिसभाको उम्मेदवार बनाइदियो । गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा दिएका अभिव्यक्ति र गत स्थानीय तहको निर्वाचनमा खेलेको भूमिकाका कारण केपी शर्मा ओली र महासचिव शंकर पोखरेल खुसी थिएनन् । मुख्यमन्त्री गुरुङले आफ्नै नेतृत्वमा पोखरामा मुख्यमन्त्रीहरूको भेला गरेर संघीय सरकारले नै संघीयतालाई कमजोर बनाउन खोजेको आरोप लगाएका थिए ।

लमजुङबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रबाट देव गुरुङ उठ्ने पक्का जस्तै भएकाले पनि भरसक देव गुरुङसँग प्रतिस्पर्धा गर्नभन्दा प्रदेशमै उठेर फेरि मुख्यमन्त्री बन्ने योजना पृथ्वीसुब्बाले बुनेका थिए । तर, प्रतिनिधिसभाको टिकट हात परेपछि अहिले चुनावी मैदानमा उनले भनिरहेका छन्, ‘नेतृत्वले मुख्यमन्त्री भइसकेको मान्छे, संघीयता बलियो बनाउन पनि राम्रो मन्त्रालय सम्हाल्ने गरी प्रतिनिधिसभामै चुनाव लड्नुपर्छ भनेर म आएको हुँ ।’

गण्डकीको मुख्यमन्त्री भएर काम गरिरहँदा एमालेको सरकार ढाल्नकै लागि माओवादीसहितको दलले गठबन्धन गरेकाले आफू पनि त्यसको सिकार भएको उनले चुनावी आमसभाहरूमा बताउने गरेका छन् । पहिचानको राजनीति गर्ने भन्दै अशोक राईहरू एमालेबाट बाहिरिँदा पृथ्वीसुब्बाले पार्टी छाडेनन् । अशोक राईहरूलाई बाहिरिने वातावरण बनाएर आफू चाहिँ एमालेमै बसेको आरोप आज पनि उनीमाथि बेला–बेला उठ्ने गरेको छ । तर, अहिले पनि एमालेभित्र पार्टी नेतृत्वसँग हाकाहाकी कुरा गर्ने र आफ्नो एजेण्डा राख्ने नेताहरूमध्ये उनी पर्छन् ।

एमाले पार्टीभित्र हस्तक्षेप र आफ्नो हैसियत बढाउँदै लगेका पृथ्वीसुब्बाको आम निर्वाचनको विगत भने सुखद छैन । सातौँ पटक चुनावी मैदानमा उत्रिएका उनले ४ पटक त हारको मार नै खेपेका छन् । २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट चुनाव जितेर मुख्यमन्त्री भएका पृथ्वीसुब्बा त्यसअघि पहिलो संविधानसभा निर्वाचन जितेर गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटन मन्त्री भएका थिए । यसअघि एमाले सचिव हुँदै गर्दा प्रदेशमा झरेका उनी पार्टीभित्र र बाहिर बौद्धिक, तार्किक तथा निडर नेताका रूपमा चिनिन्छन् ।

गुरुङले विज्ञानमा स्नातक गरेका छन् । २०३४ सालदेखि तत्कालीन मालेको सदस्यता लिएका उनी शिक्षणसँगै २०४० सालमा राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष बनेका थिए । २०२७ सालमा इशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटारमा अनेरास्ववियुको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको सचिव भएका उनी सुरुदेखि नै हक्की स्वभावका थिए । शिक्षण कालमै पञ्चायतविरुद्धको आन्दोलन छेडेका पृथ्वीसुब्बा पटक–पटक जेल परेका छन् ।

राजनीतिक जीवनको उत्तरार्धमा रहेका उनको लागि यो निर्वाचन भने जटिल परीक्षण हो । अघिल्लो निर्वाचनका सहयात्री नै पृथ्वीसुब्बा लागि अहिले तगारो बनेका छन् । अघिल्लो निर्वाचनमा बाम गठबन्धन हुँदा पिएस र देवको जोडी जमेको थियो । अहिले देव सोही पदमा दोहोरिन चाहन्छन् भने पिएस बढुवा हुन खोज्दै छन् । उनीहरुबीचको प्रतिस्पर्धा निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 2 =