सामाजिक क्षेत्रबाट राजनीतिमा उदाएका बस्नेत

विराटनगर । गाउँ, घर, समाजलाई सुरक्षित बनाउने दायित्व स्वयम नागरिकको हो ।  नागरिकको दायित्व पुरा गर्नु पर्छ भन्ने व्यक्तिको रूपमा  परशुराम बस्नेतले आफूलाई उभ्याएका छन् । उनले विराटनगर महानगरपालिका वडा नम्बर १२ को बखरी प्रहरी चौकीकालागि जग्गा खरिद र भवन निर्माण गर्ने काम नागरिकको तर्फबाट हुनु पर्छ भनेर अगुवाइ गरे ।

विस्थापित हुन लागेको बखरी प्रहरी चौकीलाई जग्गाको व्यवस्थापन गरी आफ्नै अध्यक्षतामा भवन निर्माण गरी अहिले सुविधासम्पन्न  संरचना निर्माण भएको बस्नेतले बताए ।  शान्ति सुरक्षाको व्यवस्थापन भौतिक संरचनासँग मात्र नजोडिने ठानेर उनकै अगुवाइमा सिआरभी प्रहरीको व्यवस्थापन गर्न विराटनगर महानगरपालिका वडा नम्बर ११ को पुरानो वडा कार्यालय भवनमा सिआरभी स्थापनामा पहल कदमी लिएको उनको भनाई छ । ‘विराटनगर भित्र रहेका शान्ति सुरक्षासँग जोडिए संरचनाको निर्माणमा मेरो आर्थिक तथा भौतिक रूपमा योगदान रह्यो, उनी भन्छन्, विराटनगरका ६, ११ र १२ वडाका नागरिकका लागि सुरक्षा कबचको रूपमा मैले गरेको कामलाई नागरिकले बुझ्नु भएको छ ।’

विपद् व्यवस्थापन
बाढी, पहिरो, भूकम्प र कोभिडको महामारीको बेलामा सहयोगीको रुपमा देखिने व्यक्ति हुन बस्नेत । कोही घरबाट बाहिर निस्कन नसकेको अवस्थामा ‘कोभिड : नो भिड’ मूल नाराका साथ नेपाल खेलकुद महासंघको ब्यानरमा परशुराम बस्नेतको  अगुवाइमा ६२ जिल्लामा स्वास्थ्य सामाग्री वितरण, कोभिड सचेतना र राहत वितरण गरिएको स्थानीय रोहित कोइरालाले जानकारी दिए । सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, खेलकुद क्षेत्रका व्यक्तिहरू सहित  खेलाडीहरूलाई खोप र स्वास्थ्य सामाग्री स्वास्थ्य सहित उपचारको लागि पहल कदमी लिने काम बस्नेतले गरेको उनको भनाई छ ।

कोभिडमा मात्र हैन, नागरिकको सुरक्षा, राहत र उद्धारमा हरेक बेला बस्नेत पुग्छन् । २०७२ सालको भूकम्पको बेलामा नागरिकको उद्धार, राहत र पुनस्थापनामा भक्तपुर, सिन्धुपाल्चोक र दोलखा पुगे ।  बस्नेत सहित गएको एक सय जनाको टोलीले एक महिने श्रम शिविर सञ्चालन गर्‍यो ।  त्यस्तै बारामा आएको टोर्नाटो आँधीमा परेर गाउँ नै विस्थापित भएको अवस्थामा बस्नेतको नेतृत्वमा टोली उद्धार, राहत र पुनःस्थापनामा गर्न  राहत सामाग्री सहित त्यहाँ पुगेको कोइरालाले सुनाए । ‘ बस्नेतको नेतृत्वमा त्यहाँ पुगेको टोलीले बस्ती बसाउने काममा योगदान गर्‍यो, कोइराला भन्छन्, त्यसको नेतृत्व  बस्नेतले गरे ।’

जहाँ अप्ठेरो त्यहाँ परसुराम भनिएझैँ उनको नेतृत्वको टोली सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची र मनाङको तालगाउँ पहिरोमा परेकाहरूको राहत र उद्धारमा पुगेको थियो । शीतलहरका कारण प्रभावित भएका परिवारको संरक्षणमा होस् या अपांगता भएकाहरूको लागि न्यानो कपडा, खाद्यान्न वितरण किन नहोस् बस्नेत नागरिकको जीवन रक्षाका सधैँ अग्रसर भएर लाग्ने नेताको रूपमा चिनिएका छन् ।

शिक्षादान महादान हो
रक्तदान जस्तै शिक्षा दानलाई महत्त्व ठान्ने व्यक्ति हुन् बस्नेत । विपन्न र जेहेन्दार विद्यार्थीका लागि उनी वास्तविक अभिभावक बनेका छन् । दर्जनौँ विपन्न बालबालिकाका शैक्षिक अभिभावक बनेका बस्नेत शैक्षिक संस्थाका भौतिक संरचना निर्माणमा पनि सक्रिय छन् । आफ्नो गाउँ ठाउँमा मात्र हैन, विभिन्न क्षेत्रमा पुगेर उनी निरन्तर शिक्षा क्षेत्रको विकास र सुधारमा लागिरहे ।

विराटनगरको जनपथ माध्यमिक विद्यालयको नयाँ संरचना निर्माणको नेतृत्व बस्नेतको नेतृत्वमा बनेको विद्यालयका प्रधानाध्यापक हरि पराजुलीले बताए । ‘विद्यालयमा अक्षयकोषको स्थापना गरी वार्षिक छात्रवृत्ति वितरण गर्दै आएका छौँ, पराजुलीले भने, परशु जीले हजुरवुबा लालबहादुर बस्नेतको स्मृतिमा अक्षयकोष स्थापना गर्नु भएको छ।’ जेहेन्दार तथा आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीको अध्ययनमा सहयोग पुर्‍याउन मोर्डनएरा मा.बिमा पनि कोष स्थापना गरेर शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् । बस्नेतको पहलकदमीमा शिक्षा प्राप्त गर्नबाट वञ्चित रहेका एक दर्जन बढी बालबालिकालाई शिक्षाको पहुँचमा आएका छन् ।

विराटनगरमा मात्र हैन झोराहाटमा रहेको सरस्वती माध्यमिक विद्यालयको भवन निर्माणमा समेत बस्नेतले योगदान गरेको बताए। शिक्षामा लगानी गर्नका लागि सधैँ उत्साहित हुने बस्नेत शिक्षा दानलाई जीवनदान सरह मान्छन् ।

खेलकुदमा अनुभवी
युवा र खेलकुदको आन्दोलनको अगुवाको भूमिका खेलेका व्यक्ति हुन परशुराम बस्नेत । उनले प्रदेश सरकारको प्रदेश खेलकुद विकास बोर्डको प्रथम सदस्य सचिवको रूपमा भूमिका खेल्ने मौका पाए । त्यही अवसरलाई खेलकुद क्षेत्रको विकासमा लगाउनु पर्छ भनेर उनले प्रदेश १ मा खेलकुद विकास बोर्डको जग बसाउने काम गरे । कार्यालय विहीन बोर्डलाई एउटा गति दिने काम गरेको बस्नेतले बताए ।

नीतिगत नेतृत्व गर्ने, ऐन कानुन कार्यविधि बनाउने कामको सहजीकरण, नेतृत्वविहिन बनेका १४ जिल्लाका खेलकुद विकास समितिले आफ्नो कार्यकालमा नेतृत्व पाएको उनले सम्झिए । ‘कार्यालय स्थापना गरी खेलकुद विकास बोर्डलाई लय दिने काम मैले नै गरेको हो, उनी भन्छन्, खेल क्षेत्रको विकास र समृद्धिको लागि इतिहासको सम्मान गर्नु पर्छ भनेर अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडीको लागि मासिक भत्ता उपलब्ध गराउनु पर्छ भनेर नीति निर्माणको प्रस्ताव अघि बढाएको थिएँ ।’

कार्ड देखाएर खेलाडीले उपचार र स्वास्थ्य बिमा पाउने व्यवस्थालाई प्रभावकारी कार्यान्वयनमा लग्ने नीतिगत व्यवस्थाको थालनी गर्ने प्रयास गरेको उनको भनाई छ। सामाजिक क्षेत्रमा आफ्नो भूमिका महत्त्वपूर्ण रहेको कारण जनताको माग बमोजिम राजनीतिमा आएको सुनाउँछन् । मलाई जनताको साथ र सहयोग छ, उनी भन्छन्, जनताको माग अनुसार मोरङ क्षेत्र नम्बर ६ (२) बाट प्रदेश सभाको सदस्यको उम्मेदवार भएको हुँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =