प्रचण्डको अनौठो राजनीति : उम्मेदवारै पिच्छे मन्त्री बनाउने घोषणा

पोखरा । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले चुनावी घरदैलोका क्रममा गोरखामा छन् । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उनी चुनावी प्रचारमा छन् । गोरखा २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार उनले सोही क्षेत्रको (ख) बाट प्रदेश सभा उम्मेदवार सुरेन्द्र राज पाण्डेलाई मुख्यमन्त्री बनाउने घोषणा गरे ।

(क) बाट उठेका फडिन्द्र देवकोटालाई पनि मन्त्री बनाउने उनको प्रतिबद्धता छ । गोरखा १ (क) का कृष्ण धिताल र (ख) का उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई पनि निर्वाचित गरेर पठाए मन्त्री बनाउने जिम्मा आफूले लिने प्रचण्डले घोषणा गरे । यस्तै, गोरखा १ बाट उम्मेदवार बनेका राजेन्द्र बजगाईंलाई समेत संघको मन्त्री बनाउने उनको प्रतिबद्धता छ । चुनाव प्रचारका क्रममा हेलिकोप्टर मार्फत सिर्दिवास पुगेका उनले बजगाईंलाई संघको मन्त्री र न्यौपानेलाई प्रदेशको मन्त्री बनाउने ग्यारेन्टी आफूले लिने बताएका हुन् ।

‘गोरखाको विकासका निम्ति राजेन्द्र बजगाईंलाई केन्द्रमा र नन्द न्यौपानेलाई प्रदेशमा मन्त्री बनाई विकासको जिम्मा दिइनेछ,’ उनले भने, ‘यो प्रस्ताव म शेरबहादुर देउवाजीसँग राख्नेछु । अहिले नेपालमा शेरबहादुर देउवा र प्रचण्ड मिलेपछि नहुने केही पनि छैन ।’

सुरुमा चितवनबाट चुनाव लड्ने बताएका प्रचण्ड अन्तिम समयमा गोरखा पुगेका हुन् । उनले गठबन्धनलाई मजबुत बनाएर एकअर्काका चुनाव चिन्हमा मतदान गर्न आग्रह पनि गरे । मतदाताले जिताएपछि दुवै जनालाई मन्त्री बनाउने जिम्मेवारी आफूले लिने उनको दाबी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =