स्थानीय चुनावमा लोकप्रिय मत पाएको कांग्रेसलाई उछिन्ला एमाले ?

काठमाडाैँ । प्रतिनिधिसभामा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिन्छन् । संगठनात्मक शक्ति र लोकप्रिय मतमार्फत प्राप्त समानुपातिक सिट दलहरूका लागि संसद्मा वरीयता तय गर्ने महत्वपूर्ण आधार बन्ने गरेको छ । त्यसैले ठूला दल समानुपातिकतर्फको मत बढाउने तथा साना र नयाँ दल थे्रसहोल्ड कटाएर समानुपातिक सिट हासिल गर्ने रणनीतिसहित चुनावी मैदानमा छन् ।

गत वैशाखमा भएको स्थानीय निर्वाचनको मतअनुसार ६ वटा दलले समानुपातिकमा थ्रेसहोल्ड कटाउने सम्भावना छ । कांग्रेस, एमाले, माओवादीका साथै जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र राप्रपाले स्थानीय तहमा तीन प्रतिशत मत कटाएका छन् । अघिल्लो निर्वाचनमा राप्रपाले तीन प्रतिशत मत कटाएको थिएन । अघिल्लो निर्वाचनमा राष्ट्रिय दल बनेको लोसपाले गत स्थानीय निर्वाचनमा तीन प्रतिशत मत कटाएको छैन । लोसपाले वडाध्यक्षमा प्राप्त मतअनुसार २.१२ अर्थात् दुई लाख ४४ हजार आठ सय ८२ मत ल्याएको छ ।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा सबैभन्दा धेरै कांग्रेसले ३४.२८ प्रतिशत अर्थात् ३९ लाख ५६ हजार एक सय ९३ मत ल्याएको थियो । दोस्रो स्थानमा आएको एमालेले ३३.०३ प्रतिशत अर्थात् ३८ लाख ११ हजार ६ सय दुई, तेस्रो स्थानमा आएको माओवादीले १३.०३ अर्थात् १५ लाख तीन हजार दुई सय ४७ मत ल्याएका छन् । यस्तै, जनता समाजवादी पार्टीले पाँच प्रतिशत अर्थात् पाँच लाख ७७ हजार तीन सय ८०, एकीकृत समाजवादीले ३.६६ प्रतिशत अर्थात् चार लाख २२ हजार सात सय ३७ र राप्रपाले ३.१६ प्रतिशत अर्थात् तीन लाख ६४ हजार एक सय ६० मत ल्याएको छ ।

प्रत्यक्षतर्फ सत्ता र विपक्षी दलका छुट्टाछुट्टै गठबन्धन चुनावी प्रतिस्पर्धामा छन् । उनीहरूले ०७४ को समानुपातिक मत र गत वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतलाई आधार बनाएर आफ्नो पार्टीले समानुपातिकतर्फ पाउन सक्ने मतको आकलन गरेका छन् । गठबन्धनका कारण प्रत्यक्षतर्फ उम्मेदवार नभएका क्षेत्रमा समानुपातिक मत तान्न कांग्रेस, माओवादी र एकीकृत समाजवादीले तल्ला कमिटीलाई परिचालन गरेका छन् । एमालेले भने समानुपातिकका लागि छुट्टै संयन्त्र परिचालन गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + two =