प्रदेश उम्मेदवार, प्रदेशकै विरोध !

पोखरा । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रचार प्रसारको समय लगभग अन्ततिर छ । उम्मेदवारहरु आफ्ना एजेन्डा सुनाएर भोट माग्न व्यस्त छन् । गण्डकीका केही उम्मेदवारहरुले प्रदेश संरचनाकै विरोध गरेर मत मागेका छन् । उनीहरू प्रदेश सांसद बन्नकै लागि उम्मेदवार छन्, तर प्रदेश संरचनाकै विरोध गर्छन् ।

कास्की २ (ख) का राप्रपा उम्मेदवार अरुण गिरीले प्रदेश संरचना आफ्नो प्रमुख एजेन्डा भएको बताए । ‘प्रदेश संरचनाको विरोध पार्टीको राष्ट्रिय घोषणा हो । पार्टीले नै प्रदेश संरचना अर्थात संघीयता खारेजीको मुद्दा उठाइरहेको छ,’ उनले भने, ‘म पनि ठाउँमै पुगेर प्रदेश विरुद्ध आवाज उठाउँछु ।’ उनले प्रदेशमा विकृति विसंगति बढी भएका कारण यो संरचनाले जनतालाई सुख दिन नसक्ने बताए ।

‘घर भत्काउन पहिले त्यो घरको भित्रि अवस्था बुझ्नुपर्छ,’ उनले भने, ‘पार्टीले प्रदेशको विरोध गरेको छ । प्रदेश के रहेछ भनेर पहिले बुझ्नुर्यो । अनि खारेजका लागि जनतालाई भन्न पनि सजिलो हुन्छ ।’ राप्रपाले कास्की १ (क) बाट बाबुराम थापा, (ख) मा डा. महेन्द्र बहादुर कार्की, २ (क) मा विजय भण्डारी, (ख) मा अरुण गिरी, ३ (क) मा केदारनाथ पौडेल र (ख) मा हरिबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ । गण्डकीमा राप्रपाले मात्रै होइन, राष्ट्रिय जनमोर्चाले समेत संघीयताको विरोध गर्दै आएको छ ।

‘प्रदेश संरचना सेता हात्ती हो । यसलाई पाल्न सकिँदैन, बेलैमा फाल्नुपर्छ,’ जनमोर्चाका पूर्व सांसद कृष्ण थापाले पहिलो संसद बैठकमा भनेका थिए, ‘हाम्रो पार्टीले सधैँ संघीयताको विरोध गरिरहन्छ । यो संरचना हटाउनै पर्छ ।’ अहिले गण्डकीमा जनमोर्चाका प्रत्यक्ष उम्मेदवार छैनन् । अघिल्लो पटक प्रत्यक्षमा २ सीट जितेको जनमोर्चाले गठबन्धनबाट एउटा प्रतिनिधि सभा सदस्यको टिकट लिएको छ । तर समानुपातिक बन्द सुची भने बुझाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =