काठमाडौँ-३ : राप्रपा र कांग्रेसबाट एमालेमा प्रवेश

काठमाडौँ । चुनावको मिति नजिकिँदै गर्दा दल बदल्नेको सङ्ख्या पनि दिनहुँ बढ्दै छ । यतिबेला एउटा पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्नेको लहर नै चलेको छ ।
यसैक्रममा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा गोकर्णेश्वर नगरपालिका ३ र काठमाडौँ महानगरपालिका ६ बाट नेपाली कांग्रेस र राप्रपाबाट दर्जनौँको सङ्ख्यामा एमाले प्रवेश गरेका छन् । गोकर्णेश्वर नगरपालिका ३ मा रहेको तारेभिरबाट नेपाली कांग्रेसका क्रियाशील सदस्य अनिल लामासहित दर्जनौँ कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेको नेकपा एमालेका विकास चालिसेले जानकारी दिए ।

यसैगरी काठमाडौँ महानगरपालिका ६ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको सिङ्गो टिम नै एमाले प्रवेश गरेको छ । राप्रपाका कमलबहादुर लामाको नेतृत्वमा २५ जना कार्यकर्ता एमाले प्रवेश गरेका छन् । काठमाडौँ क्षेत्र नम्बर ३ मै कार्तिक २६ गते शनिबार भएको एक कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबाट १२० जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।








