४ विकेटले आर्मीलाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कप 

काठमाडौँ । विभागीय टोली एपीएफ क्लबले पीएम कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिवार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।

उपाधिसँगै एपीएफले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ५ लाखमा चित्त बुझाएको छ । सेमिफाइनलबाट बाहिरिएका पुलिस क्लब र मधेस प्रदेशले ५०-५० हजार प्राप्त गर्‍यो । विवादका कारण ढिला सुरु भएको खेल ४० ओभरमा झारिएको थियो । खेलमा आर्मीले एपीएफलाई जितका लागि १ सय ८० रनको लक्ष्य दिएको थियो ।

आर्मीले दिएको लक्ष्य एपीएफले ३८ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । एपीएफको जितमा भुवन कार्कीले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ खेले । आर्मीका जितेन्द्र मुखियाले २ विकेट लिए । सोमपाल कामी, विक्रम सोब र सुशन भारीले १-१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले ३९ ओभरमा अलआउट हुँदै १ सय ७९ रन बनाएको थियो । आर्मीका युवा ब्याटर तथा राष्ट्रिय टोलीका नवनियुक्त कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ४९ रन बनाए । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =