चितवनमा आज सत्ता गठबन्धनको चुनावी सभा

काठमाडाैँ । सत्ता गठबन्धनले आज चितवनमा चुनावी सभा आयोजना गर्ने भएको छ । चुनावी सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसहित नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ ।

चितवनका तीन वटै निर्वाचन क्षेत्रलाई लक्षित गरेर आयोजना हुने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । गठबन्धनबाट चितवन–१ मा कांग्रेसका विश्वराज पौडेल चितवन–२ मा कांग्रेसबाटै उमेश श्रेष्ठ र चितवन–३ मा माओवादी केन्द्रबाट भोजराज अधिकारी उम्मेदवार छन् । यहाँ ठूला दलहरूलाई पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चुनौती बनेको छ । लामिछाने आफैं चितवन–२ मा उम्मेदवार बनेका छन् भने त्यसको प्रभाव आसपासमा समेत परेको छ ।

यहाँ नेकपा एमालेबाट क्षेत्र नं. १ मा सुरेन्द्र पाण्डे, क्षेत्र नं. २ मा कृष्णभक्त पोखरेल उम्मेदवार छन् । क्षेत्र नं. ३ मा भने एमालेका उम्मेदवार छैनन् । कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेका छन् । राप्रपाका विक्रम पाण्डे पनि यही क्षेत्रबाट उम्मेदवार छन् । चुनाव नजिकिँदै जाँदा नेताहरू देश दौडाहामा छन् । गठबन्धनका नेताहरू केही दिन अघि मात्र सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका चुनावी सभालाई सम्बोधन गरेर फर्केका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + seven =