रवि लामिछानेको वाचा : प्रत्येक वडामा संसदीय सेल, चितवन-२ मा ‘हेलो रवि’

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार बनेपछि यस क्षेत्रको चुनावी रौनक खुब तातेको छ । चुनावी रौनक तातिरहेको बेलामा चितवन २ को कालिका नगरपालिकाको जुटपानीमा वाचापत्र सार्वजनिक गरेका छन् ।
उनले आफ्नो वाचापत्रमा चितवनलाई आर्थिक राजधानीको रूपमा स्थापित गर्न गुरुयोजना बनाइने बताए । उनको वाचापत्रमा चितवन क्षेत्र नं २ मा जे समस्या परे पनि ‘हेलो रवि’ भन्नलाई अनुरोध गरिएको छ ।
गुनासो समस्या सुन्ने ‘हेलो रवि’ कार्यक्रम सञ्चालन गर्ने बताए । ‘चितवनमा आर्थिक राजधानी बनाउने गरी गुरुयोजना बनाई संसद्मा विधेयक पेस गर्नेछु । भरतपुर विमानस्थलको विस्तार र स्तरोन्नति, जोनिङ पद्धतिमार्फत चितवनमा सहरी योजनाको सुरुवात गर्नेछु’ रविले वाचापत्रमा भनेका छन्, ‘चितवनभित्रका सडक १२ मास नै टिकाउ र स्तरीय हुने गरी सबै टोल बस्तीमा सडक सञ्जाल विस्तार गरिने र कर्पोरेट हेड क्वार्टर चितवनमा राखिनेछ ।’
वाचापत्रमा भनिएको छ, ‘तपाईँको हर समस्याका लागि हटलाइन नम्बर दिइनेछ । तपाईँलाई सरकारी कार्यालयमा जाँदा परेको समस्या होस् वा अस्पताल जाँदा वा तपाईँका आफन्तलाई विदेशमा समस्यामा पर्दा होस् वा तपाईँका कुनै पनि समस्याका लागि तपाईँको सांसदलाई हटलाइन नम्बरमा सिधा सम्पर्क गर्न सक्नुहुनेछ ।’ हटलाइनबाट सम्पर्क नगरी भौतिकरुपमा सम्पर्क गर्न चाहनेका लागि प्रत्येक वडामा संसदीय सेल गठन गर्ने उनले बताए ।
वाचापत्रमा संसदीय योजना तर्जुमा बोर्ड गठन गरिने उल्लेख गरिएको छ । ‘टोल, वडा, पालिका र प्रतिनिधि, विज्ञ, चितवनका गैरआवासीय नेपाली, सांसद सचिवालय र म स्वयं मिली एउटा संसदीय योजना तर्जुमा बोर्ड गठन गर्नेछौँ, जसले तपाईँको टोल, वडा र पालिकाको समस्या, त्यसको समाधान र त्यहाँ आवश्यक विकास योजनाको तर्जुमा गरी हामी मिलेर काम अघि बढाउँछौँ’ उनले भने ।
वाचापत्रमा उल्लेख भएअनुसार बागेश्वरी क्षेत्रमा योगी नरहरिनाथले परिकल्पना गरेको पञ्चभाषा विश्वविद्यालय, जल निकास आयोजना, नारायणी नदीमा व्यवस्थित तटबन्ध, कबुलियत वन विकास कार्यक्रम, उपरदाङगढीमा साहसिक पर्यटकीय खेलको विकास, मुग्लिन बजार चौबिसै घण्टा सञ्चालन हुने मनोरञ्जनात्मक पर्यटन क्षेत्रको रूपमा विकास, फोहोर व्यवस्थापनको लागि ल्यान्डफिल्ड साइट, सरकारी जग्गाको संरक्षण गरी खुला पार्क र खेल मैदान निर्माण गरिनेछ ।
रवि लामिछानेले भने, ‘संसद्मा गयल हुँदिन, गयल भए भत्ता लिन्नँ । संसद् र संसदीय समितिको बैठकमा सक्रियताका साथ भाग लिन्छु । नीति निर्माणमा धारणा राख्दा सम्बन्धित क्षेत्रको विज्ञसँग सल्लाह लिन्छु । राष्ट्रिय हितविपरीत कुनै कार्य गर्दिनँ । यसमा कुनै द्विविधा आए, पार्टीको प्रारम्भिक निर्वाचन पद्धतिअनुरूप जनतालाई सोधेर निर्णय लिनेछु । सरकारी अस्पताल बाहेकमा उपचार गराउँदिनँ । स्वदेशमा उत्पादित पोसाकमात्र लगाउँछु । प्रत्येक ४/४ महिनामा सार्वजनिक सुनुवाइ गर्छु । तपाईँहरुलाई आफ्नो हरहिसाब बुझाउँछु । तपाईँ सँगसँगै बसेर विकास निर्माणका प्रत्येक योजनाको निरन्तर सामुदायिक अडिट गर्छु । विकास निर्माणको कार्यमा भ्रष्टाचार हुन दिन्नँ ।’
निर्वाचित भएको ६ महिनाभित्र चितवनमा लगानी सम्मेलन गर्ने र निर्वाचित भएको एक वर्ष भित्रमा अन्तर्राष्ट्रिय कृषि मेला आयोजना गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।








