ब्याजदर एकल अंकमा झार्न यातायात व्यवसायीको माग, नझारे आन्दोलन गर्ने चेतावनी

काठमाडौँ । यातायात व्यवसायीले बैंकको ऋणको ब्याजदर एकल अंकमा सीमित गर्न सरकारसँग माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र ढुवानी व्यवसायी महासंघले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । उनीहरुले ‘चालु पूँजी कर्जा मार्गदर्शन २०७९’ संशोधन गर्नुपर्ने समेत माग गरेका छन् ।
उनीहरुले नेपालको अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले बहुआयामिक प्रभाव परिरहेको भन्दै तरलता व्यवस्थापन, ब्याजदर स्थायीत्व र मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्ने माग गरेका छन् ।
कोभिड महामारीको असर विभिन्न व्यवसायमा देखिएको उनीहरुको धारणा छ ।
विज्ञप्तिमा भनिएको छ– ‘यही सेरोफेरोमा नेपालको व्यापार व्यवसायमा देखिएको मन्दीसँगै नेपाली व्यापार र व्यवसाय हालसम्म पनि थला परी तरलता अभावको समस्या खेप्नु परिरहेको वर्तमान अवस्थामा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुबाट एक्कासी गरिएको कर्जाको ब्याजदरमा वृद्धिका साथै ‘चालु पूँजी कर्जा मार्गदर्शन २०७९’ मा गरिएको व्यवस्था प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।’
बैंक वित्तीय संस्थामा तरलता अभावको असर उद्योग व्यवसायमा मन्दी आएको र यसले यातायात व्यवसायीलाई अझ समस्यामा पारेकोले राहत दिनुपर्ने उनीहरुको भनाइ छ । तर, बैंक वित्तीय संस्थाले व्याजदर बढाएर दोहोरो अंकमा पुर्याउँदा मार परेको उनीहरुको िभनाइ छ ।
विज्ञप्तिमा भनिएको छ– कर्जा नीतिलाई संशोधन गरी एकल ब्याजदर कायम गर्नका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक लगायत सम्वद्ध सबै बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गर्दै निजी क्षेत्रले गर्दै आएको विरोधका कार्यक्रममा ऐक्यबद्धता जनाउने र देश व्यापीरुपमा चरणवद्ध आन्दोलनका कार्यकम गर्दै जान बाध्य हुने जानकारी गराउदँछौं ।’
यस्ताे छ विज्ञप्ति










