मतदाता भन्छन्, : ‘देश बदल्न अब युवाको खाँचो छ’

रामपुर । रामपुर नगरपालिका ६ किसानटोल बस्ने ७७ वर्षीय जयनारायण न्यौपानेले आफ्नो जीवनमा धेरै पटक मतदान गरे ।

चुनाव आएका बखत अब त देशले गति लिन्छ कि भन्ने आशै आशले मतदान गर्दैआए पनि आफूले दिएको मतको कदर नभएकामा उनी गुनासो गर्छन् ।

आगामी मङ्सीर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा दिनहुँजसो घर–घरमा विभिन्न राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवार चुनावी योजना लिएर पुगेका छन् तर देशमा सक्षम र योग्य व्यक्ति नेतृत्वमा नआउँदा नागरिकले अनायासै दुःख र कष्ट भोग्नु परेकामा न्यौपाने चिन्तित छन् ।

ठूला आश्वासन दिने तर सत्तामा पुगेपछि विकासमा चासो नदिदा देशको विकास अझ पछि धकेलिन्छ कि भन्ने चिन्ताले पिरोलिनु परेको गुनासो गर्दै उहाँ चुनाव जितेर सत्तामा पुग्ने नेताले देशको विकास गर्न नसकेकामा नेतृत्वसंग रुष्ठ छन् ।

देशको परिवर्तनका लागि युवा जनशक्ति नै नेतृत्वमा आउनुपर्नेमा जोड दिनुभएका ज्येष्ठ नागरिक न्यौपाने भन्छन्, ‘देश र जनताको भावना अनुसार काम गर्ने युवा नेताको खाँचो छ, देशमा रोजगार नहुदा अहिले युवा जनशक्ति सबै विदेश पलायन भएका छन्, घरमा उमेर ढल्कदै गएका अभिभावक परदेशिएका छोराछोरीलाई सम्झदै एक्लै बस्न बाध्य छन्, विदेश जाने युवालाई रोक्न र स्वदेशमै स्वरोजगार सिर्जना गर्ने खालका कार्यक्रम ल्याउनुपर्छ ।’

पञ्चायतकालमा कोरिएका विकासका रेखा नै अहिले पनि यथावत रहेको हुँदा चुनाव आउँदा धेरै विकास गर्छौ भन्ने तर पछि गाउँ नफर्कने नेताको प्रवृत्तिप्रति उनी असन्तुष्ट छन् ।

‘मुलुकमा व्यवस्था बदलियो, राणाशासन, पञ्चायतकाल, प्रजातन्त्र हुँदै लोकतन्त्र आयो तर विकासको अनुभूति भएन’, न्यौपाने भन्छन्, ‘पहिले नै बनेका विकासका खाकाले अहिलेसम्म पूर्णता पाउन सकेको छैन, दीर्घकालीन रुपमा विकास गर्ने विकासप्रेमी युवा नेतृत्वमा आउनुपर्छ, पाका नेतृत्वले देशमा परिवर्तन आएन ।’

देश परिवर्तन युवाले गर्ने हो । युवासँग नयाँ जोश जाँगर र नयाँ विकास निर्माणका योजना आउँछन् । हामीजस्ता पाका पुस्तासँग सल्लाह लिएर युवाले नेतृत्व गरेमा देशले फड्को मार्ने ज्येष्ठ नागरिक न्यौपानेको बुझाई छ ।

ठूला आश्वासन मात्र दिनुभन्दा गाउँका सामान्य आधारभूत समस्या समाधान गर्ने नेतृत्व भए छोरा नातिले हामीलेजस्तो ससाना कुरामा पनि दुख भोग्नु नपर्ने अर्का ज्येष्ठ नागरिक रन्नता बाशिष्ठ बताउछन् ।

‘मताधिकार प्रयोग गर्न उमेर पुगेदेखि नै लगातार निर्वाचनमा सहभागी भएर मतदान गरिरहेका छौँ तर हामी मतादाताले अनुभूति हुने गरी केही काम भएका छैनन्, नेतृत्वले सुख र विकास देलान् भनेको झन् नेताहरु बीच नै कुर्र्सीको लडाई भइरहेको छ, देशमा आजभन्दा भोलि महंगी बढ्दै गएको छ, हामी जनता कसरी बाँच्ने हो’ उनी भन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =