प्रचण्ड, रवि र नारायणकाजीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), माओवादी केन्द्रकै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ ।

प्रचण्ड गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । रवि प्रतिनिधिसभा सदस्यका चितवन क्षेत्र नं. २ का उम्मेदवार हुन् । तीनै जनालाई निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएको हो ।

अध्यक्ष प्रचण्ड र उपाध्यक्ष श्रेष्ठसमेत उपस्थित कार्यक्रममा केही व्यक्तिले हँसिया हथौडाको संकेत रहेको नेपाली टोपी प्रयोग गरेको सम्बन्धमा आयोगमा प्राप्त उजुरीका आधारमा सो स्पष्टीकरण सोधिएको हो । यस्तै ‘रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालिको मतदान रवि लामिछानेलाई’ भन्ने ब्यहोरा छापिएको टोपी प्रयोग गरेको भनी आएको उजुरीका आधारमा लामिछानेलाई स्पष्टीकरण सोधिएको छ ।

निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको छ । निर्वाचन प्रचारप्रसारको लागि क्यापको प्रयोग गर्ने कार्यबाट निर्वाचन आचारसंहिताको उक्त दफा उल्लंघन हुने देखिएकाले पत्र प्राप्त भएको २४ घण्टाभित्र उहाँहरूलाई निर्वाचन आयोग नेपाल वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालय प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले भनेको छ ।

उनीहरूलाई निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) को विपरीत भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनुनपर्ने हो ? भनी सोधिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =