डा. शेखरलाई मतदाताको सर्त– ‘जिताएर पठाएपछि हाम्राे नागरिकता बनाउनु पर्छ’

विराटनगर । मोरङ ६ का मतदाताले कांग्रेस नेता नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई भोट दिएर जिताए बापत आफ्ना छराछोरीहरुलाई नागरिकता बनाइदिनुपर्ने सर्त राखेका छन् । चुनाव प्रचारप्रसारका क्रममा विराटनगर–११ को चुनावी सभालाइ सम्बोधन गर्न पुगेका नेता कोइरालासमक्ष स्थानीयले पीडा पोखेका हुन् ।
जवाफमा कोइरालाले नेकपा एमालेका कारण हजारौँ युवा नागरिकताविहीन हुनुपरेको आरोप लगाएका छन् ।
नेता कोइरालाले सांसदबाट पारित गरेर पठाएको नागरिकता विधेयक एमालेको निर्देशनमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत नगरेको दाबी गरे ।
‘नागरिकता विधेयक पास नहुँदा हजारौँ युवा नागरिकताविहीन भएका छन्,’ कोइरालाले भने, ‘जसका कारण उनीहरूले बैंकमा खाता खोल्न पाएका छैनन्, पासपोर्ट बनाउन पाएका छैनन् । लोकसेवा भिडेर जागिर खान पाएका छैनन् ।’
कोइरालाले सदनबाट दुईपटक पास गरेर पठाएको नागरिकता विधेयक पास नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेको आरोप लगाए ।
नेता कोइरालाले भने, ‘संसदले पास गरेको विधेयक राष्ट्रपतिको प्रमाणीकरण गर्ने काम मात्रै हो, फिर्ता पठाउन र अस्वीकृत गर्ने अधिकार राष्ट्रपतिलाई छैन ।’
कोइरालाले राष्ट्रपति साझा हुन नसकेको समेत आरोप लगाए । उनले राष्ट्रपतिकै कारण पटक–पटक संविधानमाथि प्रहार भएको जिकिर गरे । संसद भंग गर्नेदेखि नागरिकता विधेयक फिर्ता गर्नेसम्म आइपुग्दा राष्ट्रपतिले संविधान च्यात्ने काम गरेको उनको भनाइ थियो ।
नेता कोइरालाले आगामी मंसिर ४ पछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने दाबी गरे । उनले गठबन्धनको सरकारले नागरिकता विधेयक पास गर्ने प्रस्ट पारे ।
‘मंसिर ४ को निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ,’ उनले थपे, ‘त्यसपछि नागरिकता विधेयक पास हुन्छ र त्यसपछि नागरिकता समस्या समाधान हुन्छ ।’









