यी हुन् गत संसदमा गर्विला आवाज बुलन्द पार्ने अनुहारहरु…

काठमाडौँ । संसदमा गर्विलो, चर्को र ठट्यौली शैलीमा अभिव्यक्ति दिएर सधैँ चर्चामा रहिरहने कैयन नेताहरू नयाँ संसदमा नदेखिने भएका छन् । केही उम्मेदवार छन् उनीहरू पनि दोहोरिने/दोहोरिने पक्का छैन ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा संसदमा गर्विलो भाषण दिने नेता हुन् । उनी यसपटक पनि काठमाडौं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । उनीसँग पाँच दलीय गठबन्धनको समर्थन छ तथापि, चुनावी परिणामको आकलन मंसिर ४ गते पछिको चुनावपछि मात्रै गर्न सकिन्छ ।
नेपाली कांग्रेसकै नेता मिनेन्द्र रिजाल संसदमा बौद्धिक रुपमा पार्टीको बिचार राख्ने, कुनै पनि विषयमा पार्टी दिशा के हो प्रष्ट पार्न सक्ने नेता हुन् । उनको अभिव्यक्तिलाई धैर्यतापूर्वक सुन्ने ठूलो जमात संसदभित्र र बाहिर पनि हुन्थ्यो । यसपटक उनले टिकट पाएनन् ।
समानुपातिकतर्फ पनि उम्मेदवार छैनन् । अर्थात् आफ्नै क्षमतामा निर्भर, नेतृत्वप्रति अतिरिक्त विभक्त नराख्ने रिजाल उम्मेदवार हुनबाट वञ्चित भए । उनको कमजोरी के थियो र टिकट पाएनन्, सार्वजनिक जानकारीमा छैन । तर देखिएको तथ्य के हो भने उनी पार्टी सभापतिका आलोचक थिए, सभापतिलाई प्रश्न गर्थे । अर्को अर्थमा लोकतान्त्रिक चेत कमजोर भएर पारिवारिक स्वरूपमा बदलिन खोजेको कांग्रेस पार्टीका सभापतिमाथि उनीहरू आशक्त विभक्त राख्दैनथे ।
सत्ताका स्थायी विपक्षी मार्क्सवादी सिद्धान्तकार घनश्याम भुसालले पार्टीको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई सत्ता गठबन्धनले सहयोग गर्ने भनेको छ । उनी नयाँ संसदमा देखिने वा नदेखिने भन्ने पनि ४ मंसिरको चुनावपछि मात्रै आकलन गर्न सकिन्छ ।
आफूलाई राष्ट्रवादी भन्न रुचाउने नेता भीम रावललाई पनि एमालेले टिकट दिएन । यसकारण उनी नयाँ संसदमा देखिने छैनन् । आफ्नो एजेन्डामा कार्यकारीलाई बाध्य पार्न संसदको रोष्ट्रम नै कब्जा गर्नेसम्मको हिम्मत गर्ने नेता हुन् उनी । ४ साउन २०७८ मा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णय अनुसार अमेरिकालाई पत्र नपठाएको भनी उनले सभामुखसमक्ष रुलिङका लागि आग्रह गरे । रुलिङ नगरेसम्म रोष्ट्रम नछोड्ने उनको अडान तोड्न सभामुख अग्निप्रसाद सापकोटाले पटक–पटक आफ्नो ध्यानाकर्षण भएको बताए । उनले मन्त्रीलाई जवाफ दिन लगाउने बताए । तर, रावलले मानेनन् । सभामुखले आसन ग्रहण गर्नका लागि आदेश नै दिए । तैपनि रावल डगमगाएनन् । २० मिनेटसम्म नडगमगाइकन रावल रोष्ट्रममा उभिइरहेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक नै स्थगित गरिदिए । अन्य जनजीविकालगायतको विषयमा समेत उनको आवाज चर्को रुपमा संसदमा गुञ्जिन्थ्यो तर अब नयाँ संसदमा उनको आवाज नसुनिने पक्का भएको छ ।
निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा पनि संसदमा भावनात्मक रुपमा बोलेर चर्चामा रहिरहने नेता हुन् । तर, यसपटक उनले स्वच्छाले चुनाव नलड्ने निर्णय लिए । तीन पटक लगातार २०६४, २०७० र २०७४ सालमा सिन्धुपाल्चोकबाट संविधानसभा र प्रतिनिधिसभा सदस्य निर्वाचित सापकोटाले सभामुख भएर संघीय संसद्को नेतृत्व गर्नेसम्मको अवसर प्राप्त गरे । आफूले पदीय जिम्मेवारी निष्ठापूर्वक पूरा गरेको बताउने ६५ वर्षीय सापकोटा २०२९ सालदेखि राजनीतिमा छन् ।
सापकोटाले संसदमा रहँदा सभामुख हुँदा होस् वा सांसद, कैयन पटक राष्ट्रियता, भ्रष्टाचारका विषय उठाएर आफूलाई चर्चामा राखिरहे । १८ असार २०७६ संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सापकोटा रोएका थिए । कारण– बलिउडको इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा) नेपालमा आयोजना गर्ने तत्कालीन सरकारको निर्णय । अवार्ड गरिए नेपालको स्वाधीनता र अखण्डतामै प्रश्न उठ्ने भन्दै सापकोटा रोएको भिडियो भाइरल नै भयो । पछि उक्त अवार्ड कार्यक्रम आयोजना गर्ने विषयमा चौतर्फी विरोध भयो । आइफा नेपालमा आयोजना गर्ने निर्णयबाट सरकार पनि पछि हट्न बाध्य भयो ।
आफ्नै पार्टी नेतृत्व, कुशासन, भ्रष्टाचार, अनियमितताका विषयमा तिखो आलोचना गर्ने निवर्तमान प्रतिनिधिसभा सदस्य गजेन्द्र बहादुर महत पनि नयाँ संसदमा देखिने छैनन् । २०७४ को चुनावमा जुम्ला १ बाट निर्वाचित महतले संसदीय यात्राबाटै बिदा लिए । ५४ वर्षीय महतले अब फेरि सांसद बन्ने रहर नगर्ने बताए ।
‘कर्णालीका कुरा काठमाडौँलाई सुनाउनु थियो, सुनाएँ । अब काठमाडौँले सुनेअनुसार कर्णालीलाई व्यवहार गरोस्, गर्नुपर्छ, खबरदारी गर्न संघीय संसदमै म नभएर के भो अर्को आइहाल्छ । एक थान सांसदका लागि अब फेरि रहर गर्ने छैन,’ महतले भनेका छन् । उनको अभिव्यक्तिले विगत पाँच वर्षको संसदमा सधैँ चर्चा पाइ नै रह्यो । चार दशकदेखि राजनीतिमा रहेका महतले प्रतिनिधिसभाको एउटै कार्यकालमा गरिब, मजदुर, किसानका, विदेशमा दुःख पाएका मान्छेहरूका पीरमर्कालाई चोटिलो रुपमा उठाउने सांसदको पहिचान बनाउन सफल भए ।
संसदमा रामनारायण बिडारीको आफ्नै पहिचान छ । हरेक विषयमा चोटिला अभिव्यक्ति दिने उनको शैलीले विगतमा संसद तताइरह्यो । वरिष्ठ अधिवक्तासमेत रहेका बिडारी प्राविधिकबाहेक अन्य विषयमा बिना तयारी बोल्थे । परिणाममा कहिलेकाहीँ चिप्लिन्थे पनि ।
‘कुनै एकदमै प्राविधिक विषय छ र त्यसमा आफूलाई धेरै जानकारी छैन भने त्यसबारे अध्ययन र तयारी गरिन्थ्यो नत्र खासै तयारी गरिँदैनथ्यो,’ उनी भन्छन् । उनी धेरैजसो समाजमा घटेका कुराहरू नै संसद्मा उठाउँथे ।
संसदमा पार्टीको नीतिभन्दा जनताको कुरा उठाउनुपर्छ, यथार्थ कुरा राख्नुपर्छ भन्ने रामवीर मानन्धर पनि नयाँ संसदमा देखिने/नदेखिने ४ मंसिरको चुनावपछि मात्रै टुंगो लाग्छ । नेकपा एमालेबाट पटक–पटक जनप्रतिनिधि र मन्त्री भएका मानन्धर यसपटक पार्टीले टिकट नदिएपछि काठमाडौँ ७ बाट स्वतन्त्र उम्मेदवार छन् ।
गंगा चौधरी सत्गौवा पनि संसदमा राष्ट्रियताको विषयमा बोलिरहने र चर्चामा आइरहने सांसद हुन् । उनलाई पनि पार्टीले टिकट नदिएपछि दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छिन् ।
कर्णालीका कुरा सुनाइरहने रंगमति शाही नयाँ संसदमा नदेखिने पक्का छ । सडकको दुरावस्था हेर्न आफ्नो स्कुटीको पछाडि बस्न प्रधानमन्त्रीलाई आह्वान गर्ने जस्ता उनका अभिव्यक्ति चर्चामा रहे । विगत पाँच वर्ष संसदमा रहेर उनले किसान, पछाडि परेका वर्गका कुरा उठाइन भन सत्ताप्रति सधैँ प्रश्न गरिन् । तर, यसपटक टिकट पाइनन् ।
प्रकाश रसाइली स्नेही पनि विगत पाँच वर्षमा संसदमा बोलेर चर्चामा रहिरहेका नेता हुन् । दलित वर्गको प्रतिनिधित्व गर्दै संसदमा पुगेको भए पनि उनले सुशासन र भ्रष्टाचारको कुरामा समेत निरन्तर प्रश्न गरिरहे ।
पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई पनि नयाँ संसदमा देखिने छैनन् । उनी पनि संसदमा गर्विलो अभिव्यक्ति दिने नेता, बौद्धिक नेताका रुपमा चिनिन्छन् ।
संसद्मा आउने प्रत्येक विषयमा आफ्ना कुरा राख्ने प्रेम सुवाल यसपटक पनि उम्मेदवार छन् । उनी उम्मेदवार भएको क्षेत्र भक्तपुर १ नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को पकड भएको क्षेत्र हो । यसकारण उनी दोहोरिने पक्कापक्की छ । सुवाल बोल्नेभन्दा पहिले आफूले अनिवार्य रूपमा पार्टीभित्र छलफल गर्ने नेता हुन् । संसदमा सक्रिय रूपमा सहभागी हुने नेता हुन् उनी ।
जनसरोकारका विषयमा नियमित रूपमा आफ्नो धारणा राख्ने गरेका सुवाल संसद्मा प्रायः लिखित विचार राख्छन् । उनी भन्छन्, ‘प्रतिपक्षीले उठाएका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने परिपाटी हाम्रोमा छैन । तर पनि आफूले राखेका कुरा इतिहास पल्टाएर हेर्दा पनि बलियो थियो भन्ने होस् भनेर हामी पार्टीभित्र छलफल गरेर जनता र देशको हितमा हुने कुराहरू राख्ने गरेको थिएँ । फेरि पनि संसदमा आएर राख्छु र संसदमा उठेका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने अभ्यासका लागि थप दवाब सिर्जना गर्छु ।’









