अग्रगामी शक्तिलाई जिताउन लाग्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

राजधानीमा आज आयोजित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गोरखास्थित वाम– लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको परिचयात्मक तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा मात्र नलिन सम्बद्ध नेता कार्यकर्तालाई आग्रह गरे ।

‘मङ्सिर ४ को निर्वाचनमा प्रतिगमनले जित्ने कि अग्रगमनले जित्ने, सुशासनले जित्ने कि अराजकताले जित्ने भन्ने छ, यो सामान्य निर्वाचन मात्र होइन, अन्य निर्वाचनभन्दा भिन्न छ’, अध्यक्ष दाहालले भने, ‘यो निर्वाचनमा अग्रगमनलाई जिताउन पूरा तागतका साथ एकताबद्ध भएर लाग्नु पर्नेछ ।’ आर्थिक समृद्धिमार्फत जनताको मन नजितेसम्म राजनीतिक परिवर्तन दिगो हुन नसक्ने जिकिर गर्दै उहाँले अब विकास र समृद्धिको नयाँ यात्रा गोरखाबाटै सुरु हुने बताउनुभयो ।

‘नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर अब ढुक्कसँग जान सकिने वातावरण बनाउनु पर्नेछ । अब यो राजनीतिक प्रक्रियाको सफलताका निम्ति आर्थिक विकास अपरिहार्य शर्त हो’, गोरखा क्षेत्र नं २ का उम्मेदवारसमेत रहनुभएका अध्यक्ष दाहालले भने, ‘यदि हामीले जनताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु भएको अनुभूति दिलाउन सकेनौँ र आर्थिक क्रान्तिको खाका कोर्न सकेनौँ भने यो परिवर्तन दिगो हुँदैन । त्यसकारण परिवर्तनको दिगोपनका लागि पनि आर्थिक समृद्धिको नयाँ खाका सुरु गर्नुपर्छ ।’

कार्यक्रममा गाेरखा क्षेत्र नं २ (१)का उम्मेदवार फणिन्द्र देवकोटाले हिजोका दिनमा व्यवस्था बदल्न एक भएका राजनीतिक दल अब देश र जनताको अवस्था बदल्न पनि एक ढिक्का हुनुपर्नेमा जोड दिए । गोरखा क्षेत्र नं १ (२) का उम्मेदवार नन्दप्रसाद न्यौपानेले जनअपेक्षा पूरा गर्न गठबन्धनका उम्मेदवारका रुपमा लागेको जनाउँदै नागरिकप्रति उत्तरदायी भएर सबैले आआफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए ।

कांग्रेसका गण्डकी प्रदेशको महामन्त्री किरणबाबु श्रेष्ठले संविधानको रक्षा, राजनीतिक स्थायित्व र समृद्धिका लागि गठबन्धन गरिएको बताउनुभयो । ‘प्राप्त उपलब्धिलाई ध्वस्त गर्ने प्रतिगामी प्रवृत्तिका विरुद्ध वाम–लोकतान्त्रिक गठबन्धन आवश्यक भएको हो’, उनले भने, ‘गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराएर लोकतन्त्रको रक्षा गर्नु सबैको दायित्व हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 3 =