ओलीको गृह जिल्ला भक्तपुर–२ मा महेश बस्नेतकाे घरदैलो अभियान सुरू 

भक्तपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला भक्तपुर क्षेत्र नं. २ को घरदैलो कार्यक्रम बिहीबारदेखि सुरु भएको छ ।
क्षेत्र नं. २ अन्तरगत जिल्लाको मध्यपुर थिमी नगरपालिका र सूर्यविनायक नगरपालिका गरी दुई वटा पर्दछन् । एमाले क्षेत्र नं. २ प्रचार प्रसार समितिले आजदेखि दुई वटै नगरपालिकामा घरदैलो कार्यक्रम सुरु गरेको छ । आज बिहान मध्यपुर थिमी नगरपालिकाको वडा नं. १ बाट एमालेका उम्मेदवारहरूले घरदैलो कार्यक्रम सुरु गरेका हुन् । क्षेत्र नं. २ को लागि एमालेको तर्फबाट पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत तथा प्रदेश ‘क’ सूर्य विनायकमा किरण थापा र ‘ख’ मध्यपुरमा चन्दनकृष्ण श्रेष्ठको उम्मेदवारी रहेको छ । उनीहरुको संयुक्त उपस्थितिमा घरदैलो कार्यक्रम सुरु गरिएको हो ।
विभिन्न प्रकारका झाँकीसहित निस्किएको घरदैलो कार्यक्रममा उपस्थित कार्यकर्ताले ‘महेश आउ, भक्तपुर समृद्ध बनाउन’, ‘महेश बस्नेत जिन्दावाद, नेकपा एमाले जिन्दावाद’, ‘महेश बस्नेत हाई, हाई अरुलाई बाइबाइ’, ‘भोट फर महेश बस्नेत’, सूर्यमा भोट अरुलाई चोट,  सूर्यमा भोट झ्याप झ्याप, आमा बुबा दाजु भाई भोट हालौँ सूर्यलाई लगायतका नाराहरु लगाएका थिए ।
कार्यक्रममा स्थानीयवासीले उम्मेदवारहरुलाई टोल टोलमा रहेका समस्या तथा गुनासोहरु व्यक्त गरेका थिए । उक्त क्रममा उम्मेदवारहरूले जन चाहना अनुसारका विकासका कार्यहरु पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा एमाले बागमती प्रदेश सदस्य मदनसुन्दर श्रेष्ठ, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, प्रदेश समानुपातीक उम्मेदवार सकुन्तला श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
यस्तो छ एमाले क्षेत्र नं. २ को घरदैलो कार्यक्रम तालिका
बिहान मध्यपुर र दिउँसो सूर्यविनायक नगरपालिकाभित्र घरदैलो कार्यक्रम रहेको समितिले जानकारी दिएको छ । त्यस्तै समितिले मध्यपुर क्षेत्रमा १८ गते वडा नं. २, १९ गते वडा नं. ३, २० गते वडा नं. ४, २१ गते वडा नं. ५, २२ गते वडा नं. ६, २३ गते वडा नं. ७, २४ गते वडा नं. ८ र २५ गते वडा नं. ९ घरदैलो कार्यक्रम गर्ने जनाएको छ । मध्यपुर क्षेत्रमा दैनिक रुपमा हुने घरदैलो कार्यक्रम बिहान ७ बजेदेखी हुने समितिले जानकारी दिएको छ ।
त्यस्तै सूर्यविनायक क्षेत्रमा आज दुई बजे वडा नं. १ मा घरदैलो कार्यक्रम हुने बताइएको छ । सूर्यविनायक नगरपालिका क्षेत्रमा १८ गते वडा नं. २, १९ गते वडा नं. ३, २० गते वडा नं. ४, २१ गते वडा न.. ५, २२ गते वडा नं. ६, २३ गते वडा नं. ७, २४ गते वडा नं. ८, २५ गते वडा नं. ९ मा दिउँसो २ बजेदेखी घरदैलो हुने समितिले जानकारी दिएको छ । यस्तै २६ गते बिहान सूनपा वडा नं. १० मा घरदैलो कार्यक्रम तय गरिएको समितिले जनाएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =