निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन आयुक्त तुलाधरको आग्रह

सुर्खेत । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आचारसंहिता पालना गर्न निर्वाचन आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले आग्रह गरेकी छन्। आचारसंहिता उल्लघंन गर्ने उम्मेदवारहरुको उम्मेदवारी समेत खारेजी हुन सक्ने भन्दै आयोगले जारी गरेको आचारसंहिता पालना गर्न सबै राजनीतिक दल र उम्मेदवारहरुलाई उनले आग्रह गरेकी हुन्।
दलहरुले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न पाउनेगरी निर्वाचन आयोगले सूचना निकालिसकेको छ । यो बेलामा अझै आचारसंहिता उलंघन बढ्न सक्ने भन्दै त्यसमा आयोग सचेत रहेको बताइन।
निर्वाचन आयोगले मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै आयुक्त डाक्टर तुलाधरले आगामी मंसिर ४ गते हुने निर्वाचनमा दुइवटा कुरामा आयोग केन्द्रित रहेको बताउँदै डाक्टर तुलाधरले भनिन, ‘पहिलो त निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता पालना गराउनु हो, भने अर्को मतदाता शिक्षालाई जोड दिएका छौँ ।’
सञ्चार माध्यमले गत स्थानीय तहको निर्वाचनमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आयुक्त तुलाधरले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि त्यत्तिकै भूमिकाको अपेक्षा गरिएको बताइन्। संचार माध्यम भनेको महत्त्वपूर्ण कडी हो । उनले भनिन्, ‘मतदाता शिक्षामा संचार माध्यमको भूमिका महत्त्वपूर्ण छ, निष्पक्ष निर्वाचन बनाउन आयोग र संचार माध्यमको सहकार्य पनि उत्तिकै आवश्यक छ ।’ आयोगले अहिले मतदाता शिक्षालाई जोड दिएको भन्दै आयुक्त तुलाधरले मतदाता शिक्षा र आचारसंहिता पालनामा सबै सरोकारवालाहरूको दायित्वभित्र पर्ने बताइन् । मिथ्या सूचनालाई निस्तेज पार्न मिडियाको साथ आयोगलाई चाहिएको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका निमित्त सचिव आनन्द सारुले राज्य सञ्चालन प्रणालीलाई सफा राख्ने भनेको निर्वाचन भएको भन्दै निर्वाचन निष्पक्ष बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘राज्य प्रणालीलाई सफा राख्ने भनेको निर्वाचन हो, आवधिक निर्वाचनमा जनता सचेत हुनुपर्छ । जनता सचेत हुनको लागि मिडियाको भूमिका धेरै हुन्छ । जनता सचेत भएमात्र निर्वाचित व्यक्तीले राज्य प्रणाली राम्रो चलाउन सक्छन् ।’
सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आचार संहिता जारी हुन बित्तिकै जिल्लामा राजनीतिक दलहरूसहितको बैठक राखेर निर्वाचन आचारसंहिता पालना गर्न लिखित प्रतिबद्धता गराइएको बताए।
कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले आचारसंहिताका बारे सुसूचित गर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरे । मिडियाले समेत तथ्यलाई तलमाथि पारेको हुनसक्ने भन्दै सूचना प्रवाह गर्दा तथ्यपरक हुनुपर्ने बताए। कर्णाली प्रदेशका करिब ४० जना पत्रकारहरूको सहभागिता रहेको मिडिया अभिमुखीकरण कार्यक्रममा निर्वाचनको बेलामा सूचना सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने विषयमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा र राससका महाप्रबन्धक सिद्धाराज राईले अभिमुखीकरण गरेका थिए ।








