धमिलो पानीमा माछा मार्न खोज्दै स्वतन्त्र !

बुढापाकाले भन्थे,‘अरूले घोडा चढ्यो भनेर आफू धुरी नचढ्नु ।’ पहिलेपहिलेका मान्छेले भनेका यी कुरा सत्य र जीवनोपयागी पनि छ । अरूको लहैलहैमा लगेर कुनै काम गर्न नहुने बुढापाकाहरूको भनाइ छ । गत वैशाख ३० गतेको स्थानीय तहको चुनावमा काठमाडौँ महानगरपालिकाबाट बालेन्द्र शाह विजयी भएपछि यतिखेर स्वतन्त्रहरूको ओइरो लागेको छ ।
आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा स्वतन्त्रको उम्मेदवारी अत्यधिक धेरै छ । राजनीतिको ‘क’ पनि नजानेकाहरूले उम्मेदवारी दिएका छन् । बालेन विजयी भएको देखेकाहरूले केही ज्ञान नै नभईकन भकाभक उम्मेदवारी दिए । आगामी निर्वाचन पछि यिनीहरूको हरिबिजोग हुने निश्चित छ । बुढाखाडा नेतालाई गाली गरेर चुनाव जित्छु भन्ने मनसाय स्वतन्त्रहरूमा देखिन्छ । तर, राजनीति कति गाह्रो छ ? भन्ने यिनलाई थाहा छैन । बालेनले आज जनताबाट जति वाहीवाही पाएका छन्, त्यसलाई आधार बनाएर चुनावमा उठेका छन् । बालेनकै नाम बेचेर चुनाव जित्ने दाउमा छन्, स्वतन्त्रहरू ।
स्वतन्त्रबाट आएका बालेनले काम गरे, अब हामी पनि गरेर देखाउँछौँ भन्दै धमिलो पानीमा माछा मार्न खोजिएको छ । ‘मौकामा चौका हान्न’ खोज्ने यी स्वतन्त्रहरूले अहिले जति फाइफुट्टी लगाएका छन्, त्यसको नतिजा आगामी चुनावपछि अवश्य पनि देखिनेछ । बालेन विजयी भएको देखेपछि पत्रकारिता छोडेर राजनीतिमा लागेका रवि लामिछानेले पार्टीको नाम नै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ राखेका छन् । यद्यपि, उनी स्वतन्त्रबाट चुनाव लड्न लागेका होइनन् । उनले पनि दाउ छोपेर पार्टीको नाममा स्वतन्त्र राखेका हुन् । उनको पार्टीबाट थुप्रै उम्मेदवार चुनावी मैदानमा छन् । पैसाले भरिपूर्ण रवि लामिछानेले करोड रुपैयाँ खर्च गरेपनि चुनाव जित्दैन । उनले हिजो सिधा कुरा जनतासँग भन्ने कार्यक्रम चलाए । नाम जनताको तर जहिले गाली नेतालाई गर्ने । पत्रकार पनि आफैँ, वकिल पनि आफैँ, न्यायाधीश पनि आफैँ । आफै मुद्दा व्यूताउने अनि आफै फैसला गरिदिने ।
ठूल्ठूला आवाजमा चिच्याएकै भरमा जनताले भोट दिन्छन् ? टिभीमा कार्यक्रम चलाउनेले राजनीति गर्न सक्छन् ? चुनाव जित्नका लागि उनले विभिन्न नौटङ्की देखाइरहेका छन् । बूढाबूढीलाई भेटेजस्तो गर्ने अनि सामाजिक सञ्जालमा पोस्ट गर्ने । चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेलाई जित्न साह्रो सकस छन् । हिजो उनलाई शालिग्राम पुडासैनी मृत्यु प्रकरणमा समात्दा जति जनता भेला भएका थिए, ती सब चितवनवासी थिएनन् । रातारात गाडीका गाडी मान्छे लगेर आन्दोलन गर्न लगाइएको थियो । त्यतिखेर उनी राप्रपाको समर्थनमा थिए । हिन्दु राज्य ब्युँताउनुपर्छ, सङ्घीयता खारेज गर्नुपर्छ, राजतन्त्र फर्काउनुपर्छ भन्ने लामिछानेको पछाडि उत्रिने अधिकांश राप्रपाकै कार्यकर्ता थिए । न उनलाई त्यतिखेर चितवनवासीको साथ थियो न अहिले नै छ । मौकाको खोजीमा हिँड्नेहरू रवि लामिछानेजस्ता हुन्छन् भन्ने त यहीबाट प्रष्टिएको छ ।
राजा चाहिन्छ भनेर उफ्रिने आज आफ्नै पार्टी खोलेर हिँडेका छन् । हिजो आफूलाई चौकीबाट निकाल्ने जतिलाई त यिनले बिर्सिए । अहिले त राजाको कुरा सामसुम भयो । आफूलाई जता फाइदा हुन्छ, त्यतै लाग्नेहरूबाट के विकास होला ? फाइदा हुनुञ्जेल राजाको गुलामी गर्यो, सङ्घीयता खारेजीको कुरा गर्यो अहिले मुखमा बिर्को लाग्यो । स्वतन्त्रबाट लड्ने पनि दुई थरीका छन् । कोही हावादारीको भरमा उठेका छन्, कोही टिकट नपाएर स्वतन्त्रमा उठेका छन् ।
पार्टीमा लागेर २० औँ वर्ष जनताको काम गरेपनि पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उठ्नेहरूले चुनाव जित्न सक्छन् । किन कि ऊनीहरूसँग अनुभव पनि छ र उनीहरूले जनता पनि चिनेका छन् । आमाको पसलमा चिया र सेल खान आएका नेतालाई चिनेकै भरमै चुनाव लड्नेलाई जनताले के आधारमा भोट दिने ? डाक्टर, इन्जिनियरलाई किन भोट दिने ? यिनीहरूले कहिले जनताको सेवा गरेका छन् ? अहिले चिकित्सा पेशा छोडेर राजनीतिमा लागेका छन् ।
भोलि हारेपछि फेरि पनि त्यही पेशामा फर्किन्छन् । हिजो लठ्ठी खाने बेलामा यिनीहरू कहाँ थिए ? अरूले लाठी खाइदिएर, टाउको फुटाएर ल्याएको व्यवस्थामा रजगज गर्ने खोज्नेहरूलाई जनताले जिताउनुहुँदैन । डाक्टर बनेर टन्न कमायो अनि नाम कमाउनका लागि राजनीतिमा आउनेहरूलाई जनताले लखेट्नुपर्छ । आज स्वतन्त्रहरूले जति नेताहरूलाई गाली गरिरहेका छन्, त्यो व्यवस्था पनि त्यही बुढा नेताले ल्याइदिएका हुन् । नेता भनेको निरन्तर लागिरहनुपर्छ ।
अहिले जति स्वतन्त्रहरू छ्याप्छ्याप्ती भएका छन्, चुनाव हारेपछि यिनीहरू सेलाउँछन् । भित्रभित्रै पस्छन्, आफ्नो पेशामा फर्किन्छन् अनि अर्को चोटिको चुनावमा फेरि बाहिर आउँछन् । मौकाको खोजीमा बसेकाहरूलाई जनताले चिन्नुपर्छ । गरेर देखाएको भए कराउनु पनि उचित हुन्थ्यो । कहिले राजनीति नै नगरेकाहरू बुरुकबुरुक उफ्रिनु बेकार हो । अहिले स्वतन्त्रहरूले ‘नो नट अगेन’ अभियान चलाएका छन् । तर, के आधारमा यो अभियान चलाएका छन् ?
व्यवस्था परिवर्तन गर्नका लागि बुढाखाडा नेताले जति योगदान दिए, यिनीहरूले दिन सक्छन् ? कहिले जेल गएर बसेका छन् ? प्रहरीले टाउको फुटाएर रक्ताम्मे भएको अनुभव स्वतन्त्रसँग छ । नेतालाई गाली गर्न यिनीहरूलाई सजिलो भएको छ तर ती नेताजति काम गर्न सक्ने क्षमता यिनीहरूसँग छ ? जति दुःख सहेर नेताहरू यहाँ आइपुगेका छन्, अहिलेका स्वतन्त्रसँग त्यसको आधा पनि क्षमता छैन । तिनीहरूको भाषण सुन्दा यो स्पष्ट भइसकेको छ ।
घर चलाउन नसक्नेहरू राजनीतिको दौडमा छन् । जसरी आएका छन् त्यसरी नै यिनीहरू फर्किने छन् । देशका कुनै कुनै नेताले भ्रष्ट्राचार गरे होलान् तर सबै त्यस्ता छैनन् । राजनीति गर्दागर्दै सबै जायजेथा सकाएर नेताहरू पनि यहाँ छन् । त्यागी नेता पनि भेटिन्छन् । कुनै एजेण्डाबिनै राजनीतिमा छिरेका छन् । कुनै भिजन नै नभएपछि बुढाखाडा नेतालाई गाली गर्नु नै एजेण्डा बनाएका छन् । भोलि सांसद्मा उभिएर यिनीहरूले कानून बनाउन सक्छन् ?
कानून बनाउन त त्यति सजिलो छैन । गत असोज २३ गतेअघि यिनीहरू कुन दुलोमा थिए ? यिनीहरूको नाम जनताले सुनेका पनि थिएनन् । अहिले जति फाइफुट्टी लगाएका छन्, मङ्सिर ४ पछि सेलाउँछन् । कोही मिडियामा फर्किन्छन्, कोही आफ्नो व्यापार व्यवसायतिर लाग्छन्, कोही चिरफार गर्न जान्छन् । जे होस् सबै कमाउनतिर लाग्छन् । पाँच वर्षको अवधिमा स्वतन्त्र उम्मेदवारी दिएकाहरू एकचोटि पनि जनताको घर जाँदैनन् । यस्तालाई पनि भोट देलान् त जनताले ?
चुनाव जित्नका लागि व्यापारीसँग पैसा उठाएर सीधासाधी जनतालाई बाँड्ने क्रम पनि शुरु भएको छ । कतिपय कलाकारले ‘र्याल काढ्ने नेता’ लाई मत नदिने घोषणा गरेका छन् । ६० वर्ष कटेका नेतालाई भोट नदिने भन्ने कलाकारले देश र जनताका लागि के गरे ? हाँसो बेचेर पैसा कमाएका छन् । अनि गर्नेलाई भोट नहालौँ भन्दै जनता उचाल्ने । अरूमाथि हिलो छ्याप्नुअघि आफूले के गरेको छु यो हेर्न जरुरी छ । राजनीति परिवर्तन गर्न नेताहरू जेल नबसेको भए र सर्वसाधारणहरू सहिद नभएको भए आज यसरी व्यङ्ग्य हान्न पाउँथे ।
नेताहरू नभएको आज हाँसो बेचेर कमाउन पाउँथे ? हजारौँ जनता सहिद नभएका भए स्वतन्त्रले उम्मेदवारी दर्ता पनि गर्न पाउँदैनथे । देशका लागि योगदान दिने ती नेता र सहिदको खिल्ली उडाउने यिनीहरूलाई लाज लागेन ? आफ्नो इच्छा लागेको कुरा बोल्न र लेख्न पाउने अधिकार बुढा नेताले दिएका होइनन् र ? हिजोको अवस्था कस्तो थियो ? एकचोटि फर्केर हेरौँ । राणा शासन फाल्ने र पञ्चायती व्यवस्था हटाउने बुढा नेता होइनन् र ? कि रवि लामिछानेले हटाएका हुन् ?
कि त राजनीति नै थाहा नभएका स्वतन्त्रले उखालेर फालेका हुन् ? ६० वर्ष कटेका नेताहरूलाई गाली गर्नुअघि तिनले हामीमाथि गरेको योगदान हेरौँ । कतिले पदमा पुगेर कमाए होलान्, आफन्तलाई जागिर लगाए होलान् । तर, कतिले राजनीति गर्दागर्दै आफ्नो जिन्दगी सकाएका छन् । भ्रष्ट्राचार गर्नेलाई कारबाही गर्नुपर्छ तर आजसम्म पदमै नपुगेका नेताले कहाँबाट भ्रष्ट्राचार गरोस् ? कि त जसले भ्रष्ट्राचार गर्यो उसको नाम खुलाउन सक्नुपर्यो । अनि जथाभाबी गाली गर्न पाइन्छ ? स्वतन्त्रहरूले एक-दुई सिट जित्लान् । तर, अन्तिममा पार्टीकै बहुमत आउने हो । स्वतन्त्रलाई भोट दिनु भनेको आफ्नो मत खेर फाल्नु हो !








