टिप्पणी

प्रधानमन्त्रीको दाबी गर्दै आएका गगन थापालाई क्षेत्र नम्बर ४ का जनताले पत्याउलान् ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई यसपालिका चुनाव भारी पर्ने आकलन गर्न थालिएको छ । काठमाडौँ क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका थापा पराजित हुने प्रक्षेपण गर्न थालिएको हो । ‘जबसम्म थापा हार्दैनन् तबसम्म क्षेत्र नम्बर ४ को विकास सम्भव छैन’ धेरैले भनिरहेका छन् ।

देशको भावी प्रधानमन्त्री दाबी गर्दै आएका थापालाई प्रधानमन्त्री हुनेभन्दा संसद् भित्र पनि छिर्न गाह्रो छ । अघिल्लो चुनावमा जनताले विश्वास गरेर उनलाई मत दिए । चुनाव जिताए तर, विकासको सिन्कोसमेत भाँच्न सकेनन्, थापाले । स्वास्थ्यमन्त्री हुँदा पनि खास्सै काम गर्न सकेनन् । ‘अर्कोलाई गाली गरेर माथि आउँछु भन्ने सोच राख्ने । आफ्नो क्षेत्रका जनताका निम्ति केही पनि नगर्ने । चुनाव आएपछि जनताको ढोकामा आउने, चुनावपछि फर्किएर पनि नहेर्ने ।’ यस्तो व्यक्तिलाई भोट दिएर के अपेक्षा राख्ने ?

अबको प्रधानमन्त्री म भन्दै थापाले भोट मागिरहेका छन् । जसले एउटा स्वास्थ्य क्षेत्र त सम्हाल्न सकेन, उसले तीन करोड नेपाली सम्हाल्न सक्छ ? थापाभन्दा ‘खंखुर’ व्यक्तिहरू प्रधानमन्त्रीको लाइनमा छन् । नेपाली कांग्रेसका सभापति एवम् देशका प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई प्रधानमन्त्री बन्न देलान् ? अबको प्रधानमन्त्री देउवा नभएपनि लाइनमा त थुप्रै छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल सबै प्रधानमन्त्रीकै दौडमा छन् ।

राजनीतिको पुरै पाठ पढिसकेकाले थापाजस्तोलाई प्रधानमन्त्री बन्न दिन्छन् ? एमसीसी पास गर्न थापाले जति जोडबल कसैले पनि गरेन । एमसीसीको पक्षमा बोल्ने र एमसीसी पारित गर्न पहल गर्ने हर्ताकर्ता उनी नै हुन् । अमेरिकाको सेना नेपाल आएर बस्यो भने मलाई चारपाटा मुडेर थानकोट कटाउनु भनेर सदनमा उभिएर थापाले भाषण गरेका थिए । भोलि एमसीसीका कारण हाम्रो शान्तिपूर्ण मुलुकमा केही दुर्घटना घट्यो भने यसको जिम्मेवार थापा हुनुपर्छ ।

क्षेत्र नम्बर ४ कै जनताले समेत हामीलाई एमसीसी चाँहिदैन भनेर आवाज उठाएका थिए । प्रचण्ड र माधवकुमार नेपाल सरकार छोड्न तयार भइसकेका थिए । यस्तो अवस्था बन्दा पनि थापाले आफ्नो जिद्दी छोडेनन् । प्रधानमन्त्री देउवालाई घुँडा टेकाएर एमसीसी पास गराएरै छोडे ।

थापाले यो क्षेत्रबाट चुनाव हार्छन् भन्ने भेउ पार्टीलाई पहिल्यै थाहा थियो । जसका कारण पार्टीले उनलाई सर्लाही क्षेत्र नम्बर ४ बाट चुनाव लड्न सुझाएको थियो । थापाले फेरिपनि काठमाडौँबाट चुनाव लडे भने अवश्य पनि हार्छन् भन्ने कुरा त कांग्रेसका कार्यकर्तालाई पहिले नै ज्ञान थियो । एक्लै चुनावमा गयो भने हार्छु भनेर थापालाई पनि खबर थियो । तर, समाजवादी, माओवादी र राष्ट्रिय जनमोर्चा पार्टीको समर्थन पाएपछि उनले दोहोर्‍याएर आउने आँट गरेको प्रष्टै बुझिन्छ । उनका निकटस्थ र उनीमाथि आँखा चिम्लेर विश्वास गर्नेहरू अझै पनि देशको प्रधानमन्त्री थापा भन्दै हिँडेका छन् । दिउँसै सपना देख्ने र देखाउने लाई के नै भन्न सकिन्छ ? पार्टीका सभापति देउवाले थापालाई प्रधानमन्त्री दिन्छन् ? अर्को तिर गठबन्धनले उनलाई समर्थन गर्लान् ?

बाबुराम भट्टराईले देशका प्रधानमन्त्री प्रचण्ड भनिसकेका छन् । माधवकुमार नेपालले पनि देउवा र प्रचण्डलाई प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिसकेका छन् । थापा त प्रधानमन्त्री बन्ने दौडमै छैनन् । अनि जनतालाई ठूल्ठूला आश्वासन दिएर कतिन्जेल ढाँट्ने ? आजका जनता धेरै सचेत भइसकेका छन् । फेरिपनि थर्काएर, धम्काएर, पैसा बाँडेर चुनाव जित्छु भनेर सपना नदेख्दा नै उचित होला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + six =