एकीकृत समाजवादीको घोषणापत्र : भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने सङ्कल्प

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा महासचिव बेदुराम भुसाललगायतका नेताले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
नेपाली जनताको लामो र बलिदानीपूर्ण सङ्घर्षबाट मुलुकमा महत्वपूर्ण उपलब्धिहरूको रक्षाको लागि आफूहरूको पहिलो प्राथमिकता भएको घोषणापत्रमा उल्लेख गरेको छ ।
यस्तै, नेकपा एकीकृत समाजवादीले मुलुकमा मौलाएको भ्रष्टाचार समग्र अर्थतन्त्रको गम्भीर रोग बनेको निष्कर्ष निकालेको छ । आसन्न मंसिरमा हुने निर्वाचनका लागि सोमबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा सो पार्टीले आर्थिक क्षेत्रमा उल्लेख्य प्रगति गर्न नसक्नुको एउटा प्रमुख कारण भ्रष्टाचार भएको ठहर गरेको छ ।
‘भ्रष्टाचारका कारण लक्षित वर्ग, समुदायसम्म विनियोजित रकम नपुग्ने, विकास निर्माणका काम गुणस्तरहीन हुने वा अनावश्यक लागत बढाउनेजस्ता समस्याहरूले जरो गाडेका छन्’, नेकपा एकीकृत समाजवादीले भनेको छ– ‘हाम्रो पार्टी समग्र नेपाली समाजबाट भ्रष्टाचारलाई निर्मूल गर्ने अभियान सञ्चालन गर्नका लागि दृढ सङ्कल्पित छ ।’
साथै यसको सुरुवात सबै क्षेत्रबाट गरिनुपर्ने समाजवादीले जनाएको छ । ‘भड्किलो जीवनशैली भ्रष्टाचारको एक प्रमुख कारक रहेको कुरालाई मनन गर्दै हाम्रा जनप्रतिनिधिले उदाहरणयोग्य सादा जीवन बिताउने कुरामा विशेष ध्यान दिने छन् । हाम्रा जनप्रतिनिधिले आफ्नो घरमा हुने विभिन्न पारिवारिक वा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दा वा चाडपर्वहरू मनाउँदा सकेसम्म कम खर्चमा सादा ढङ्गले सम्पन्न गर्ने कुरामा विशेष ध्यान दिने छन्’, नेकपा समाजवादीले घोषणापत्रमा भनेको छ ।
अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो भएकाले प्रणालीको सुधारलाई जोड दिएको छ । घोषणापत्रमा भनिएको छ, ‘यो मुलतः धेरै पैसा खर्च गर्नेले मात्र जित्नसक्ने खालको छ । यो जटिल पनि छ र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ । कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ ।’








