गोरखाका उम्मेदवारलाई मतदाताले भने, : ‘बुढीगण्डकी बनाउनू, टायर उद्योग चलाउनू’

पोखरा । गोरखाका गठबन्धन उम्मेदवारले अघिल्लो साता पोखरामा भएका मतदातासँग भेटघाट गरे । उनीहरुले चुनाव जिताइदिन मतदातासँग अपिल गर्नुअघि मतदाताले भने, ‘के छन् तपाईंका एजेण्डा ?’ नागरिक अगुवा ऋषि गिरीले उम्मेदवारहरुलाई गोरखकाली रवर उद्योग सन्चालनका लागि आग्रह गरे । राजनीतिक अस्थिरताकै कारण रवर उद्योग २०७२ सालदेखि बन्द छ । गिरी त्यतिमा मात्रै रोकिएनन् र भने, ‘बुढी गण्डकी जलविद्युत आयोजना कहिले बन्छ ?’ गोरखाबाट उम्मेद्वारी दिएका अधिकांश उम्मेद्वार केन्द्र र प्रदेशमा राम्रो प्रभाव राख्न सक्ने खालका छन् । मतदाताहरु अब रवर उद्योग सन्चालन हुनेमा ढुक्क छन् । ‘मुख्यमन्त्री र प्रधानमन्त्री बन्ने सम्भावना भएका उम्मेद्वार हुनुहुन्छ । तपाईंहरुले चाहे नसक्ने केही छैन,’ अर्का मतदाता किरण पन्त भन्छन्, ‘बुढीगण्डकीमा किन अलमल भैरहेको छ ? तत्कालै मुआब्जा टुंग्याएर बनाउन सकिँदैन ?’
रवर उद्योग र बुढीगण्डकी आयोजना सँधै चुनावी मसला हुन्छ, उम्मेदवारहरुका लागि । तर चुनाव जितेपछि कसैले सम्झँदैनन् । अगुवा सूर्य क्षेत्री लिगलिगकोट क्षेत्रलाई अन्तराष्ट्रिय अध्ययन केन्द्रका रुपमा विकास गरेर विदेशी पर्यटक भित्र्याउन उम्मेदवारहरुको खाका खोजे । ‘वास्तवमै संसारको सबैभन्दा पहिलो प्रजातान्त्रीक थलो लिगलिगकोट हो । प्रतिश्पर्धाका आधारमा शासन चलाउने चलन अन्यत्र कतै नहुँदा दौडिएर राजा भएका थिए यहाँ,’ उनले भने, ‘यस्तो गतिलो इतिहासलाई प्रबद्र्धन गर्न हामीले सकेका छैनौं । अहिलेका उम्मेदवारले यसमा चासो दिउन् ।’ लिगलिगकोटदखि सिरानचोक हुँदै गोरखा दरबारसम्म अहिले म्याराथन सन्चालन भैरहेको छ । तर एकीकृत विकासमा खासै चासो पुगेको छैन ।
गोरखा २ का गठबन्धन उम्मेद्वार पुष्पकमल दाहाल प्रचण्डले आफुले चुनाव जितेपछि गोरखाको समृद्धीको लागि गेमचेन्जर योजनाहरु सन्चालन गर्ने बताए । मतदातासँग भेटघाट गर्ने क्रममा उनको प्राथमिकतामा पालुङटार एयरपोर्ट समेत परेको छ । उनले उत्तरी गोरखालाई विशेष क्षेत्र बनाउन पहल गर्नेसम्मका योजना अघि सारेका छन् । बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल अघि बढाउने र बेनीघाट–लार्के रुइला नाका सडकखण्ड निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता पत्र तयार गरिएको छ । गोरखाको सिर्दिबास, माछीखोला, बारपाक, भच्चेक क्षेत्रमा हिमाली क्षेत्रमा पाइने जडीबुटी संरक्षण, संकलन र प्रशोधन केन्द्र स्थापना गर्ने, उत्तरी गोरखाको दुर्गम पालिका चुमनुब्री र धार्चेलाई स्वायत्त क्षेत्र घोषणा गर्न पहल गर्ने उल्लेख छ ।
डा.बाबूराम भट्टराईले यसअघि धार्चे र चुमनुब्री फुटाएर छुट्टै जिल्ला बनाउनुपर्ने माग राखेका थिए । यस्तै, उत्तरी गोरखालाई हिमालय पर्यटनको रुपमा विकास गर्न चीनसँग सीमा जोडिएको रुइला नाका नियमित रुपमा सुचारु गर्न सुनिश्चितता सहित नुव्री क्षेत्रमा अन्तरदेशीय बन्दरगाह स्थापना गरिने, चुम र नुव्री भ्यालीलाई हिमाली शहरको रुपमा विकास गर्न विशेष पहल गर्ने प्रतिबद्धता पत्रमा प्रचण्डले भनेका छन् । गोरखाको उत्तरी क्षेत्र चुमभ्यालीमा एकसयवर्ष अघिदेखि सुरु गरिएको नेपालको एक मात्र अहिंसा क्षेत्रको संरक्षण र विकासमा जोड दिने उम्मेदवारहरुको प्रतिबद्धता छ । कांग्रेस उम्मेदवार सुरेन्द्र पाण्डेले विकासका लागि आफु दिनरात खटिने प्रतिबद्धता जनाए ।








