युवाले भरिँदैछ गण्डकी प्रदेश सभा: ८० प्रतिशत सांसद ६० ननाघेका, ८ सांसद ५० वर्ष मुनिका

पोखरा । गण्डकीका ८ सांसद ५० वर्षभन्दा कम उमेरको हुने पक्का भएको छ । प्रत्यक्ष तर्फको ३६ निर्वाचन क्षेत्रमा दुवै गठबन्धनले ५० वर्ष भन्दा कम उमेरका उम्मेदवार उठाएका छन् । गोरखा १ (ख) का दुवै उम्मेदवार ५० वर्ष भन्दा कम उमेरका छन् । कांग्रेसका नन्द प्रसाद न्यौपाने ४२ वर्षका छन् भने एमालेका मोहन प्रसाद भट्टराई ३८ वर्षका छन् । गोरखा २ (क) मा पनि ५० वर्ष भन्दा कम उमेरका हुने छन् । एमालेले ४३ वर्षका राजु राना र सत्ता गठबन्धनले ४६ वर्षका फडिन्द्र देवकोटालाई अघि सारेको छ ।
मनाङ (क) मा कांग्रेसले ४१ वर्षका मुनिन्द्र जंग गुरुङ र एमालेले ३९ वर्षका राजन गुरुङलाई उठाएको छ । कास्की ३ (ख) पनि संयोगले दुवै प्रभावशाली उम्मेदवार ५० वर्ष भन्दा कम उमेरका छन् । एमालेबाट निवर्तमान सांसद राजीव पहारी र कांग्रेसबाट प्रकाश बराल उम्मेदवार बनेका छन् । पहारी ४६ र बराल ४३ वर्षका छन् ।
नवलपुर २ (क) मा एमालेले ४७ वर्षकी पद्या जिसी र माओवादीले ४४ वर्षका सौगम कुमार सिर्पाली विकलाई प्रतिस्पर्धामा उतारेको छ । बागलुङ क्षेत्र नम्बर २ का दुवै निर्वाचन क्षेत्र भाग्यमानी भएका छन्, जहाँबाट ५० वर्ष भन्दा कम उमेरका उम्मेदवार सांसद बन्ने छन् । २ (क) मा कांग्रेसका जिल्ला सभापति समेत रहेका जीत शेरचन र एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीबीच प्रतिस्पर्धा हुने छ । शेरचन ४३ वर्षका भए भने घर्ती ४२ वर्षका छन् । (ख) मा एमालेले ४७ वर्षका लक्ष्मण पुन मगर र कांग्रेसले ४२ वर्षका द्रोण कुमार कुँवरलाई उठाएको छ । यसबाहेक, गण्डकीका अधिकांश सांसद ६० वर्ष भन्दा कम उमेरका हुने छन् ।
५ सांसद ६० वर्ष उमेर कटेका हुने छन् । किनकि ती क्षेत्रमा दुवै गठबन्धनले ६० कटेका उम्मेदवारलाई अघि सारेका छन् । कास्की २ (ख) बाट कांग्रेस उम्मेदवार विन्दुकुमार थापा ६५ र एमाले उम्मेदवार मिना गुरुङ ६२ वर्षका छन् । कास्की ३ (क) मा एमालेका गणेशमान गुरुङ ६१ र सत्ता गठबन्धनबाट माओवादी उम्मेदवार दुर्गादत्त भण्डारी ६६ वर्षका छन् । तनहुँ २ (क) मा पनि दुवै गठबन्धनका उम्मेदवार ६० कटेका छन् । एमालेका श्यामराजा महत ६३ र माओवादीका राजेन्द्र केसरी न्यौपाने ६७ वर्षका छन् । स्याङजा २ (क) मा एमालेका मोहन रेग्मी ६३ र कांग्रेसका भोजराज अर्याल ६२ वर्षका छन् । पर्वत (ख) मा एमालेका मित्रलाल बस्याल ६५ र कांग्रेसका ऋषिकेश तिवारी ६६ वर्षका भए ।
६ वटा निर्वाचन क्षेत्रमा ६० कटेका र सो भन्दा कम उमेरबीच प्रतिस्पर्धा छ । गोरखा १ (क), लमजुङ (क), कास्की १ (क), तनहुँ २ (ख), नवलपुर १ (क) र २ (ख) मा यस्तो प्रतिस्पर्धा हुने भएको हो । यहाँ मिश्रित नतिजा आउन सक्छ । १७ क्षेत्रमा ५० देखि ६० वर्ष उमेर समूहका प्रतिस्पर्धीबीच नै प्रतिस्पर्धा हुने छ । यसको मतलब यहाँ पनि ६० कटेका सांसद बन्ने छैनन् ।









