सत्तारुढ गठबन्धनका उम्मेदवार जिताउँन नेताहरुको अपिल

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष चार नेताले गठबन्धनलाई भोट दिएर जिताउन मतदातालाई आग्रह गरेका छन्।
शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर उनीहरुले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरेका हुन्।
चार शीर्ष नेताले गठबन्धनकोतर्फबाट सहमतिका उम्मेदवारहरुको सूची पनि शुक्रबार नै सार्वजनिक गरिएको बताएका छन्।
उनीहरुले केही स्थानमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी तय गरिएको पनि बताएका छन्। ती स्थानहरुमा एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गरे चुनावमा जाने निर्णय भएको उनीहरुले जनाएका छन्।
विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चा पार्टी नेपालका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गरेका छन्।
यसअघि कात्तिक १ मा पनि सत्तारुढ गठबन्धनले प्रतिगमन अझै पनि कायमै रहेको बताउँदै आफूहरुलाई भोट दिन भनेका थिए। तर त्यसबेला जनमोर्चाले उक्त अपिलमा हस्ताक्षर गरेको थिएन। उनीहरुले केही स्थानमा देखिएका विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्याउन प्रतिवद्ध रहेको बताउँदै असन्तुष्ट कार्यकर्तालाई फकाउने प्रयास पनि गरेका छन्।









