शक्तिहीन बाबुरामका ‘पपुलिस्ट’ नारा

काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष हुन् । डा. भट्टराई नेतृत्वको पार्टी आफ्नै चुनाव चिन्हबाट चुनाव लड्दैछन् । माओवादी केन्द्रसँग संयुक्त चुनाव चिह्नमा चुनाव लड्दै गरेका उनले आफ्नै शक्तिको आकलन गरेर उनले सिराहा र काठमाडौँमा दुई सिट माओवादीसँग लिए । सिराहामा नेसपाका अर्का अध्यक्ष महिन्द्रराय यादवलाई प्रत्यक्षमा उठाएका छन् भने काठमाडौँ ७ मा आफ्नै छोरी मानुषीलाई उठाए ।

प्रत्यक्षमा दुई सिट लिएर चुनाव लड्दै गरेका डा. भट्टराईले आइतबार चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरे । प्रतिवद्धतापत्रमा नेसपाका अर्का अध्यक्ष यादवको नाम आफ्नै नाम राखेको लहरमा राखेनन् । अर्थात, विगतमा जसपामा रहँदा उनले दुई अध्यक्षात्मक प्रणालीमा दुवै अध्यक्षको नाम र हैसियत समान हुनुपर्छ भनी उठाएको कुरा र गरेको तर्क आफैँ ‘पावरफुल’ भएको नेसपामा लागू गरेनन् ।

अर्कोतर्फ आफैँ चुनावमा नउठेका, अर्को पार्टीको चुनाव चिह्नबाट पार्टीका दुई नेतालाई प्रत्यक्षमा जम्मा दुई सिटमा चुनावी प्रतिस्पर्धा गराएका डा.भट्टराईको चुनावी प्रतिवद्धतापत्र भने बडा] गज्जबको छ । उनले ‘पपुलिस्ट’ (लाेकप्रिय) विषयहरूलाई प्रतिवद्धतापत्रमा समावेश गरेका छन् ।

डा.भट्टराईको सबैभन्दा पपुलिस्ट नारा हो– काठमाडौँदेखि सगरमाथासम्म केबलकार । ‘काठमाडौँदेखि सगरमाथा बेसक्याम्पसम्म केबलकार’ प्रतिवद्धतापत्रको प्रतिबद्धता नम्बर १३ को शीर्षक ‘केबलकार’ शीर्षकमा उल्लेख छ । यसको सुनिश्चितता कसरी हुन्छ भन्ने विषयलाइ प्रतिवद्धतापत्रको सुरुमै लेखिएको छ, आर्थिक विकास तथा समृद्धिका योजनाहरू सङ्घीय स्तर र प्रादेशिक स्तरका रणनीतिक महत्त्वका आयोजनाहरूलाई बजेटको कमी हुन नदिई सम्पन्न गरिनेछ ।’

अर्को पपुलिस्ट विषय हो–रेल । एक दिनमा मेची–काली यात्रा गर्न सक्ने गरी पूर्व–पश्चिम रेल मार्ग निर्माण गर्ने नेसपाको प्रतिबद्धता छ । प्रतिबद्धता पत्रमा रेलमार्ग सम्बन्धी छुट्टै शीर्षक छ । प्रतिबद्धता नम्बर ७ मा भनिएको छ, ‘पूर्व पश्चिम लोकमार्गको समानान्तर एक दिनमा मेची–काली यात्रा गर्न सकिने गतिको पूर्व–पश्चिम चल्ने रेल मार्गको निर्माण ।’

यसैगरी, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी– चितवन– काठमाडौं रेल लुप निर्माण गर्ने पनि डा.भट्टराई नेतृत्वको पार्टीको चुनावी प्रतिबद्धता छ । साथै, काठमाडौं–वीरगन्ज रेलमार्ग निर्माण गर्ने पनि प्रतिबद्धता छ ।

विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले रेलको सपना देखाउँदा डा.भट्टराईले कट्टु आलोचना गरेका थिए । २०१६ मे १७ मा डा. भट्टराईले ओलीको रेल सपनाको आलोचना गर्दै ट्विट गरेका थिए, ‘प्रमले रेल÷पानीजहाज दिनुभन्दा पहिले काठमाडौं लगायतका सहरमा सार्वजनिक बससेवा दिने कष्ट गर्ने कि ? फराकिलो पारिएको सडकमा ट्राफिक जाम उस्तै जो छ !’ ६ वर्ष पछि डा. भट्टराईले ओली भन्दा अगाडि बढेर रेलको सपना देखाएका हुन् ।

प्रतिवद्धतापत्रको पपुलिस्ट अंश

आर्थिक विकास तथा समृद्धिका योजनाहरू सङ्घीय स्तर र प्रादेशिक स्तरमा निम्नानुसारका रणनीतिक महत्त्वका आयोजनाहरूलाई बजेटको कमी हुन नदिई सम्पन्न गरिनेछ ।

१. सङ्घीय स्तरबाट विकास गरिने रणनीतिक महत्त्वका योजनाहरू

ऊर्जा:

१. पञ्चेश्वर, पश्चिम सेती, माथिल्लो कर्णाली, नलसिङगढ, बुढीगण्डकी, दुधकोशी जस्ता ठूला जलविद्युत परियोजनाहरूको निर्माण ।

२. पूर्व पश्चिम र मध्य पहाडी लोकमार्गको समानान्तर ७६५ केभीको प्रसारण लाइन, कर्णाली, गण्डकी र कोसी कोरिडोरमा ४०० केभीको प्रसारण लाइनको निर्माण ।

सडक

३. चारलेनको मध्यपहाडी लोक मार्ग, ६ लेनको पूर्व–पश्चिम लोक मार्ग एसियाली मार्ग तथा ४ लेनको तराई–मधेशको हुलाकी लोकमार्गहरूको निर्माण ।

४. चीन र भारतको बिचमा गतिशील पुल बन्न सहयोग पुग्ने गरी ४ लेनका सेती महाकाली, कर्णाली, गण्डकी र कोसी गरी चारवटा उत्तर दक्षिण जोड्ने लोकमार्गहरूको निर्माण ।

५. काठमाडौँ–वीरगन्ज द्रुत मार्ग (फास्ट ट्र्याक) को निर्माण ।

६. कम्तीमा एउटा मूल लोकमार्गसँग हरेक प्रदेशका राजधानीसँग जोडिने गरी ४ लेनका सडकहरूको निर्माण ।

रेलमार्ग

७ पूर्व पश्चिम लोकमार्गको समानान्तर एक दिनमा मेची–काली यात्रा गर्न सकिने गतिको पूर्व–पश्चिम चल्ने रेल मार्ग को निर्माण ।

८. रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी– चितवन– काठमाडौं रेल लुप निर्माण ।

९. काठमाडौं–वीरगन्ज रेलमार्ग निर्माण ।

हवाई तथा जलमार्ग

१०. काठमाडौं एयरपोर्टलाई अत्याधुनिक सुविधायुक्त अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमा स्तरोन्नति ।

११ निजगढमा अत्याधुनिक सुविधायुक्त अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण ।

१२ पोखरा, विराटनगर, भैरहवा, नेपालगन्ज, सुर्खेत र धनगढीमा एकाएक । अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण तथा स्तरोन्नति ।

केवलकार

१३ काठमाडौँ देखि सगरमाथा बेसक्याम्प सम्म केबलकार ।

१४ दिपायल खप्तड–रारा, सुर्खेत–जुम्ला, पोखरा–जोमसोम, विदुर–कैस्ड,

उदयपुर ओखलढुङ्गा, धनकुटा खाँदबारी ।

हिमाली पर्यटकीय पदमार्ग

१५. हिमाली भेगमा पूर्वदेखि पश्चिमसम्मको पदयात्रा गर्न सकिने ’हिमाली पर्यटकीय पदमार्ग’ को निर्माण ।

सिँचाइ

१६ तमोर–मोरङ डाइभर्सन, सुनकोसी–कमला डाइभर्सन, सुनकोसी–मरिन डाइभर्सन, भेरी–बबई डाइभर्सन, कालीगण्डकी–तिनाउ डाइभर्सन ।

विशेष औद्योगिक क्षेत्र

१७. हरेक प्रदेशका कम्तीमा दुई स्थानहरू पर्ने गरी २० स्थानहरूलाई विशेष औद्योगिक क्षेत्रको रूपमा विकास ।

खानी उद्योग

१८. फलाम, युरेनियम तथा पेट्रोलियम पदार्थको उत्खनन् तथा विकास ।

वातावरण संरक्षण

१९. चुरे संरक्षण ।

विज्ञान, प्रविधि तथा अन्वेषण

२०. हरेक प्रदेशमामा एकाएक विज्ञान, प्रविधि तथा अन्वेषण प्रज्ञा प्रतिष्ठानहरूको स्थापना ।

खेलकुद

२१. खेलकुदको विकासको लागि एक अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला र एक खेलकुद महाविद्यालय ।

भू–उपग्रह

२२. मुलुकको सूचना सुरक्षाका लागि एक भू–उपग्रह अन्तरिक्षमा सञ्चालन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eleven =