रोचक रसुवा : तीन पदका लागि २९ मनोनयन दर्ता

रसुवा । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि रसुवाबाट २९ जना उमेदवारले मनोनयपत्र दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको विवरणानुसार एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभाका लागि ११ र दुई प्रदेशभसभाका लागि नौ-नौ जना उमेदवारले आ-आफ्नो मनोनयनपत्र दाखिला गरेका हुन् । प्रतिनिधिसभाका लागि तीन स्वतन्त्र र आठ राजनीतिक दल, प्रदेशसभा तर्फको (क) र (ख)मा एक-एक स्वतन्त्रसहित आठ-आठवटा राजनीतिक दलका प्रतिनिधिले मनोनयनपत्र दर्ता गरेका हुन् ।

प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मोहन आचार्यले आफ्नो उमेदवारी दर्ता गराएका छन् ।
यसैगरी नेकपा (एमाले)को तर्फबाट छोवाङ तेन्जिङ तामाङले प्रतिनिधिसभा सदस्य पदका लागि उमेदवारको मनोनयनपत्र दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एकीकृत समाजवादी), मङ्गोल नेशनल अर्गनाइजेशन, नेमकिपा, जनसमाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र तामसालिङ लोकतान्त्रिक पार्टीका उम्मेदवारले समेत दर्ता गराएका छन् ।

प्रतिनिधिसभाको सदस्य पदमा लीलाबहादुर न्यौपाने, रामशरण पौडेल र कर्सावाङ्दी तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्य पदका लागि जन समाजवादी पार्टी नेपालले महिला उमेदवार तय गरेको बताइन्छ ।

जिल्लाको प्रदेशसभा (क) बाट गठबन्धन तर्फबाट कांग्रेसका प्रभात लामा, एमालेका कुलप्रसाद भट्ट, एकीकृत समाजवादीका सनथ देवकोटालगायत राप्रपा, नेमकिपा, तामसालिङ लोकतान्त्रिक पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, जनसमाजवादीसमेतले मनोनयन दर्ता गराएका छन् ।

यस्तै प्रदेशसभा (ख)मा गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रप्रसाद गोतामे, एमालेका तेम्व्रेल तामाङ, एकीकृत समाजवादीका रामप्रसाद न्यौपाने, कांग्रेस (बीपी)को तर्फबाट शारदाकुमार न्यौपानेलगायत राप्रपा, तामसालिङ लोकतान्त्रिक, मङ्गोल अर्गनाइजेशन, नेमकिपासमेतले मनोनयन दर्ता गराएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =