डेंगी रोकथाम गर्न लामखुट्टेका घर खोज्दै महानगर, कवाडी व्यवसाय आवास क्षेत्रबाट हटाउन निर्देशन

पोखरा । पोखरामा डेंगी विरुद्धको सचेतना अभियान सुरु भएको छ । महानगरको स्वास्थ्य महाशाखाले डेंगी रोकथामका लागि लामखुट्टेको घर खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेको हो ।
लामखुट्टेको टोकाइबाट सर्ने डेंगी तीव्र रूपमा फैलिएको छ । महानगरले आफ्ना नागरिकलाई डेंगीबाट सुरक्षित गर्न यस्तो अभियान थालेको हो । मेयर धनराज आचार्यले डेंगी रोकथामका लागि नागरिक सचेतना आवश्यक रहेको बताए । ‘उपचार गर्ने भन्दा पहिले नै सचेत रहनुपर्छ । फैलिन नदिन अभियान चलाउनुपर्छ,’ उनले भने, ‘रोकथामको प्रमुख उपाय जनजागरण नै हो । लामखुट्टेको टोकाइबाट सर्ने भएकाले त्यसको वासस्थान खोज्ने र नष्ट गर्ने नै हो ।’
ग्यारेज तथा कवाडी सङ्कलन केन्द्रहरूमा रहेका पुराना टायर लामखुट्टेको सुरक्षित वासस्थानका रूपमा पाइएकाले त्यस प्रकृतिका व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूलाई सचेत गराइएको छ । महानगरले कवाडी सङ्कलकलाई आवास क्षेत्रभन्दा ५ सय मिटर पर सार्न निर्देशन दिएको छ ।
डेंगीको प्रकोप रोक्न सरोकारवालाको एकीकृत प्रयास आवश्यक रहेको स्वास्थ्य महाशाखाका प्रमुख कृष्ण प्रसाद अर्यालले बताए । उनका अनुसार पोखरामा हालसम्म १ सय भन्दा बढी डेंगीका बिरामी फेला परेका छन् ।









