जुवा खेल्ने ८ जना पोखराबाट पक्राउ

पोखरा । जुवा खेलिरहेको अवस्थामा ८ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा १३ की सूर्य कुमारी गुरुङको घरमा तास खेलिरहेका उनीहरूलाई नगद सहित पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट १ लाख ७ हजार २ सय ५५ बरामद भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । पक्राउ पर्नेमा तनहुँ देवघाट घर भई मियापाटन बस्ने ४४ वर्षकी घरधनी सूर्य कुमारी गुरुङ, सर्लाही घर भई रानीपौवा बस्ने ३८ वर्षका ललितकुमार बस्नेत, सोही ठाउँका ३५ वर्षीय रूपक बस्नेत, बागलुङ घर भई फूलबारी बस्ने ४० वर्षका दीपक खड्का छन् ।
यस्तै, पोखरा ७ बस्ने ३१ वर्षका सूर्य थापा, धादिङ घर भई फूलबारी बस्ने ३७ वर्षका रमेश ठकुरी, पोखरा १३ का ४० वर्षीय आशबहादुर गुरुङ र लमजुङ घर भई रामबजार बस्ने ४४ वर्षकी कमला गुरुङ पनि पक्राउ परेकी छिन् ।
उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिन म्याद थपेर कारबाही भइरहेको छ ।









