‘संरचना निर्माण गर्दा मापदण्ड पालना गर्नुपर्छ’

गण्डकी । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले पुम्दीकोटमा निर्माणाधीन संरचनामा मापदण्ड पालना गर्न आग्रह गरेका छन् । पोखरा महानगरपालिका–२२ स्थित विशाल महादेव मूर्ति परिसरमा पुम्दीकोट युवा क्लबद्वारा आज आयोजित तीज विषेश कार्यक्रममा उनले पुम्दीकोट क्षेत्रमा होटल तथा रेस्टुरेन्ट खोल्ने क्रम बढ्दै गएको र खोल्दा खेरी नै मापदण्ड पालना गर्न आग्रह गरे।
“पहिला बनेका भौतिक संरचनाको बारेमा पछि छलफल गरौँला, तर अब बन्ने भौतिक संरचनाको विषयमा बेलैमा गम्भीर बन्नुपर्छ”, उनले भने, “मापदण्ड मिचेर बनाएका संरचना काठमाडौँमा जस्तै भत्काउने दिन आउन सक्छ ।”
पुम्दीकोट क्षेत्रमा वातावरण सरसफाइदेखि आगन्तुक पाहुनाको स्वागत सत्कार आदिमा देखिने गरेको विकृतिको अन्त्यका लागि वडासँगको सहकार्यमा क्लबहरूले अगुवाइ गर्नुपर्नेमा उनले जोड दिए ।
नेपालीपन झल्कने गरी तीजलाई मनाउनुपर्ने बताउँदै मन्त्री बरालले अन्यथा यो पर्वमा पश्चिमा संस्कृतिको प्रभाव पर्ने बताए । तीज महिलाहरूको अभिव्यक्ति स्वतन्त्रता र कृषि पर्वको रुपमा समेत रहेको उनको भनाइ छ ।
कार्यक्रममा क्लबका अध्यक्ष सुमन बराल, पोखरा २२ का वडाध्यक्ष हिमलाल बराल, निवर्तमान वडाध्यक्ष मित्रलाल बराल, पूर्वअध्यक्ष राजु बराल, सल्लाहकार नरहरि बराल, महिला नेतृ कमला बराल, सृजनशील युवा क्लबका अध्यक्ष राजु बराललगायतले तीजको महत्वबारे प्रकाश पारे। कार्यक्रमका अवसरमा छेलो हान्ने प्रतियोगिता, घैँटो फुटाउने प्रतियोगिताको साथै विशेष साङ्गीतिक प्रस्तुतीहरू राखिएको थियो ।









