शैक्षिक सुधारकाे माग राख्दै नेविसंघले बुझायाे शिक्षामन्त्रीलाई ज्ञापन

काठमाडौँ । नेपाल विद्यार्थी संघले शिक्षा क्षेत्रको सुधारको माग राख्दै शिक्षा मन्त्रीलाई २९ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

आइतबार सिंहदरबारमा नेविसंघले समग्र शैक्षिक विकासका लागि केही तात्कालिक तथा संरचनागत सुधार गर्नुपर्ने माग राख्दै विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएको हो ।

विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र राखी विना व्याज शैक्षिक ऋण प्रदान गर्ने निर्णय यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने, अस्वाभाविक रूपमा बढाइएका शुल्क खारेज गर्नुपर्ने, विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउनुपर्ने, शैक्षिक क्षेत्रको सुरुवातमा विद्यार्थी भर्नासँगै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुराउनुपर्ने माग नेविसंघको छ ।

त्यस्तै एसइई परीक्षा उत्तीर्ण गरी कक्षा ११ मा भर्ना भएका सम्पूर्ण विद्यार्थीको भर्ना शुल्क ५० प्रतिशतले मिनाहा गर्नुपर्ने, दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका अभिभावकहरूको सन्तानले शैक्षिक संस्थामा सहुलियत शुल्कमा अध्ययन गर्न पाउने व्यवस्था मिलाउनुपर्ने आफूहरूको माग रहेको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए । उनले शिक्षा क्षेत्रको सुधारका कुरा उठाउँदा आफूहरूमाथि आक्रमण हुने गरेको गुनासो गरे ।

ज्ञापन पत्र बुझ्दै मन्त्री पौडेलले शैक्षिक क्षेत्रमा बढेको शुल्कका विषयमा आफूले सर्वपक्षीय छलफल गर्ने बताउनुभयो । विद्यार्थीहरूले उठाएका मागहरू सकारात्मक भएको भन्दै विशेष ध्यान दिएर आवश्यक नीति निर्माण गरिने उनले बताए ।

नेविसंघले आफूहरूको माग यथाशक्य सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने समेत चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =