भरतपुर महानगरका भूमिहीनलाई भूमिपति बनाउने रेणु दाहालको प्रतिबद्धता

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले भरतपुरका भूमिहीनलाई भूमिपति बनाउने प्रतिबद्धता जनाएकी छन् । भतपुर महानगरपालिका वडा नम्बर २३ ले आयोजना गरेको नापी कार्यको शुभारम्भ तथा नयाँ निस्सा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुर महानगरका सबै भूमिहीनलाई भूमिपति बनाउने आफ्नो अभियान रफ्तारमा बढेको बताइन् ।
भरतपुर महानगरका २९ वटा वडामा १० हजार ७९ जना सुकुम्बसीको बसोबास रहेको तथ्याङ्क रहेको छ । भरतपुरका २९ वटा वडाको लालपुर्जा वितरण गर्ने कार्य अब कुनै पनि कारण र बहाना गरेर नरोकिने दाहालको भनाइ छ।
वर्षौँदेखि रोकिएको गाउँ ब्लकको कार्यक्रम अन्तरगत भरतपुर २९ मा लालपुर्जा वितरण गर्नुका साथै वडा नम्बर २ मा भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा दिएर उदाहरण प्रस्तुत गरेको मेयर दाहालको भनाइ थियो ।
‘निस्सा पाए पनि जग्गा पाइँदैन भन्दै विरोधीले हल्ला चलाएका छन्’ उनले भनिन्, ‘अब तपाईँहरू ढुक्क हुनुस् । हामी जिम्मेवार निकाय तपाईँसँगै छौँ। हल्लाका पछाडि नलाग्नुस् । हामी बोलेर भन्दा काम गरेर देखाउँछौँ। विगतको कामबाट पनि प्रमाणित भइसेको छ ।’
भरतपुर महानगरपालिकाले विकासको मोडेल रुपमा पहिचान दिए जस्तै लालपुर्जा दिने पहिलो पालिकाको रुपमा आफ्नो पहिचान बनाएको मेयर दाहालले बताए। भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले वर्षदेखि जग्गा उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन २३ नम्बरका स्थानीयहरु जग्गाको मालिक बन्ने प्रक्रिया सुरु भएको बताए ।
निर्वाचनमा गरेको बाचा अनुरुप अहिले लालपुर्जा वितरणको प्रक्रियामा गईसकेको उपप्रमुख अधिकारीको भनाइ छ । यस्तै राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमल्सिनाले निर्वाचन आचारसंहिताले लालपुर्जा वितरण कार्यक्रमलाई कुनै असर नपार्ने बताए। भूउपयोग ऐनले व्यवस्था गरेअनुसार लालपुर्जा बन्ने काम निरन्तर अगाडि बढ्ने अध्यक्ष तिमल्सिनाको भनाइ छ ।
भरतपुर वडा नम्बर २३ मा शुक्रबार १८४ जनालाई निस्सा प्रदान गरिएको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेणु दाहालले भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई निस्सा प्रदान गरेर नापजाँपको शुभारम्भ गरेकी छन् ।
भरतपुर वडा नम्बर २३ र २४ मा विस२ ०३५ सालमा हेटौँडाको हटियाबाट बसाइसराइ गरी यहाँ आएका भूमिहीन सुकुम्वासीको बसोबास गरेको छ । भरतपुर २३ मा मात्रै ९ सय ४ जना सुकुम्वासी छन् ।








