विराटनगरमा ‘ग्याङ फाइट’, १० जना घाइते

विराटनगर । विराटनगरमा मङ्गलबार साँझ दुई पक्षबीच कुटाकुट हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

विराटनगर महानगरपालिका–१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच कुटाकुट भएको प्रहरीले जनाएको छ । पुरानो रिसईबीलाई लिएर दोहोरो झडप हुँदा राजकुमार गम्भीर घाइते भएका छन् । उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

अन्य घाइतेको कोसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटाकुटमा राजवंशीतर्फका अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका हुन् । कामततर्फका राजकुमारसहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय जितनारायण राजवंशी र राजीव राजवंशी बजारबाट घरतर्फ फर्कँदै गर्दा साँझ राजकुमार कामतको घरअगाडि पुगेपछि दुई पक्षबीच विवाद भएको पाइएको छ । घटना थाहा पाउने बित्तिकै पुगेको प्रहरीले दुवै पक्षलाई सम्झाई बुझाई गरेर पठायो ।

केहीबेरमै हातहातमा बाँस, भाटा र लट्ठी लिएर स्थानीय भेला भएका थिए। त्यसलगत्तै दुई समूहबीच दोहोरो झडप भएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । घटनाअनुसार केही दिनअघि दिनेश कामतले चलाएको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएको थियो । त्यतिबेला दिनेशमाथि कुटपिट भएको थियो । दुर्घटनाका विषयमा प्रहरीमा मिलापत्र भएको थियो ।

त्यही घटनाको रिसईबीलाई लिएर दुई पक्षबीच विवाद बढेको र विवाद दोहोरो झडपमा परिणत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । झडपमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =