चितवनमा १३३ भूमिहीनले पाए जग्गाधनी प्रमाण पुर्जा

भरतपुर । चितवनको भरतपुरमा १ सय ३३ भूमिहीन सुकुम्वासी घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा न २ का १ सय ३३ घरधुरी भूमिहीन सुकुम्वासी परिवारलाई आज ९आइतबार० एक कार्यक्रमका बिच लालपुर्जा वितरण गरिएको हो ।
लालपुर्जा वितरण गर्दै सुकुम्वासीलाई नेपाल सरकारका भूमि व्यवस्था सहकारी मन्त्री शशी श्रेष्ठले २ वर्षभित्र ४ लाख सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने गरी वर्तमान सरकार अगाडि बढेको जानकारी दिइन् ।
संविधानमा भएका कुरा कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध भएर लागिरहेको बताइन् । मन्त्री श्रेष्ठले भूमिसम्बन्धी सम्पूर्ण समस्या दिगो रूपमा नै समाधान गर्न आफूहरू लागिरहेको भन्दै सबैको साथ, सहयोगबाट भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न सम्भव भएको बताइन्।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले भूमिको व्यवस्थापन राम्रोसँग गर्न सके रोजगारी सिर्जना हुने उल्लेख गरे । देश विकास गर्न सबैभन्दा पहिला भूमि व्यवस्थापन महत्त्वपूर्ण पक्ष रहेको उनको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्वाचनमा भोट पाउनका लागि मात्र सुकुम्वासीलाई जग्गा दिने काम नभएको तथ्य आज प्रमाणित भएको बताइन् । भरतपुर महानगरपालिकाले यहाँ रहेका सबै भूमिहीनलाई भूमिपति बनाउने गरी कामलाई निरन्तर अगाडि बढाएको उल्लेख गरिन् ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्का, भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष कृष्णराज लब्ली, भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमल्सिनाले मन्तव्य व्यक्त गरेका थिए।
जग्गा पाएका १३३ जना मध्ये १२० जनाले मात्र पुर्जा लिएका छन् । जिल्ला बाहिर र वैदेशिक रोजगारमा भई सनाखत बाँकी रहेकाले बाँकी १३ जनाले राष्ट्रिय भूमि आयोजकको जिल्ला समितिको कार्यालयबाट पुर्जा पाउने छन् ।
नेपालको कुनै पनि ठाउँमा ३ पुस्तासम्म जग्गा नभएको र आवाद खनजोत गरी बसेको ठाउँमा जग्गा पाउने भू–उपयोग ऐनमा उल्लेख छ ।
भरतपुर महानगरपालिका वडा–२ मा यसअघि गत चैत २३ गते ४६ जना भूमिहीन दलितलाई जग्गाधनी प्रमाण पत्र वितरण गरिएको थियो ।
भू–उपयोग ऐन अनुसार सहरी क्षेत्रमा आवासका लागि १३० वर्गमिटर अर्थात् ७ दशमलव ६७ धुर जग्गा पाउनेछन् भने ग्रामीण क्षेत्रमा ३४० वर्गमिटर अर्थात् एक कट्ठा पाउने प्रावधान छ ।
भरतपुर महानगरपालिकामा भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबास गरी ११ हजार ७९ जना रहेको राष्ट्रिय भूमि आयोग चितवनको तथ्याङ्क छ । जसमध्ये १० हजार ८ सय ९५ जनाले निस्सा पाइसकेका छन् ।
आयोगले अब छिट्टै पश्चिम चितवनको २३, २४ र २५ मा लालपुर्जा वितरण गर्ने जनाएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 4 =