एकातिर खेत, अर्कोतिर जंगल, बाटै नभएको ठाउँमा कसरी बन्यो ५ करोडको पुल ?

पोखरा । एकातिर खेत, अर्कोतिर जङ्गल । नजिकै छ, झोलुङ्गे पुल । नारेश्वरका मान्छेहरू बेँसी झर्ने साँघुरो गोरेटो बाटो छ । बिचबाट बग्ने दरौंदी नदीमाथि अहिले पक्की पुल बन्दै छ । गण्डकी प्रदेश सरकारको ५ करोड लागतमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

गोरखा नगरपालिका ३ नारेश्वर र सिरानचोक गाउँपालिका ५ जरेवर जोड्ने पुल निर्माणपछि अहिले चौतर्फी आलोचना भएको छ । सडक नखन्दै पुल बनाउन बजेट दिएका प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत आलोचित बनेका छन् ।

पुलभन्दा १ सय मिटर वर नारेश्वर तर्फ कच्ची साँघुरो सडक त पुगेको छ । तर उक्त सडक प्रयोगमा छैन । पुलबाट जरेबरतर्फ मूल सडकसम्म पनि ट्र्याक खुलेको छैन । तर किसानले धान रोपेका कारण सडक नदेखिएको पूर्व मन्त्री बस्नेतले बताए । ‘त्यहाँ सडक छ । अहिले किसानले धान रोपेका कारण सडक नदेखिएको हो,’ उनी भन्छन्, ‘अति आवश्यक ठाउँमा पुल बनाइएको हो । यसबाट त्यहाँका किसानले ठूलो लाभ पाउँछन् ।’

पुलमा जान जथाभाबी सडक खन्ने डरले किसानहरू नै चिन्तित बनेका छन् । ‘सडक खनेपछि पुल हाल्नुपर्ने हो । यहाँ त बाटो बन्ने कता हो थाहा छैन, पहिलै पुल बनिसक्यो,’ स्थानीय कृष्णबहादुर कुमाल भन्छन्, ‘पुलको छेउमा मेरो खेत छ । बाटो बनाउँदा खेत नै सकिन्छ कि भन्ने डर भयो ।’

४० मिटर तल पुल बनाउनका लागि किला गाडिएको थियो । पहिले हेरिएको ठाउँभन्दा माथि लगेर पुल बनाएपछि किसानलाई चिन्ता बढेको हो । अहिले पुल बनेको ठाउँबाट ३ सय मिटरको दुरीमा पूर्वमन्त्री बस्नेतको खेत छ ।

पुल बनाउन २०७७ जेठ २ मा सम्झौता गरिएको थियो । गत जेठमै काम सक्नुपर्नेमा हालसम्म सकिएको छैन । आगामी पुससम्म काम सक्न म्याद थपिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =