ब्राजिलमा मंकीपक्सपक्सबाट एक जनाको मृत्यु
काठमाडौं । ब्राजिलमा मङ्कीपक्सबाट एक जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार ब्राजिलमा मङ्कीपक्सबाट पहिलोपटक मृत्यु भएको पुष्टि गरेका हुन्।
ब्राजिलको दक्षिणपूर्वी मिनाज गेराइस राज्यअन्तर्गत बेलो होरिजोन्ट भन्ने ठाउँमा ४१ वर्षीय व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बिरामी भएपछि ती व्यक्तिलाई गम्भीर स्वास्थ्य अवस्था रहेको ठानेर उपचार गराइएको भए पनि उपचार सफल हुन नसकेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
उनलाई क्यान्सरलगायत अन्य गम्भीर प्रकृतिका रोगले समेत चापेकाले उपचार सफल हुन नसकेको उनीहरूको भनाइ छ।
मृत्यु भएका व्यक्तिको परिचय भने औपचारिक रुपमा सार्वजनिक गरिएको छैन। तर ती व्यक्तिलाई बेलो होरिजोन्टमा रहेको सार्वजनिक अस्पतालमा उपचार गराइएको थियो।
मिनास गेराइस राज्यका स्वास्थ्य अधिकारीहरूले त्यस प्रदेशमा मात्रै ४४ जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भइसकेको जनाएको छ। अरु १३० जनामा त्यसको शंका गरिएको पनि उनीहरूको भनाइ छ।