मेयर आचार्य र पाेल्याण्डका राजदूतबीच भेटवार्ता

पोखरा । पोखराका मेयर धनराज आचार्य र नेपालका लागि पोल्याण्डका गैर-आवासीय राजदूत एडम बुराकोव्स्कीबीच भेटवार्ता भएको छ । राजदूत बुराकोव्स्की हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिकको स्मृति कार्यक्रम पोखरामा गर्न तयारीका लागि आएका थिए ।
उनले मेयर आचार्यलाई उक्त कार्यक्रममा साथ दिन आग्रह गरे । कार्यक्रम गर्न आफूहरू तयार रहेको आचार्यको भनाइ छ । सन् १९९२ मा कन्चनजंगा हिमाल आरोहणको क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविज केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन्
। उनी युरोपबाट सगरमाथा आरोहण गर्ने पहिलो तथा विश्वकी तेस्रो महिला आरोही थिइन् । अन्नपूर्ण हिमाल समेत सफलतापूर्वक आरोहण गरिसकेका कारण उनको स्मृति कार्यक्रम पोखरामा गर्न लागिएको हो ।
रुटकिविजलाई पोल्याण्डको सरकारले आउट स्टान्डिङ् पोलिसी विमनको रूपमा घोषणा गरेको छ । रुटकिविज हराएको ३० वर्षपछि आगामी अक्टूबर महिनामा पोखरामा उनको स्मृति कार्यक्रम गर्ने तयारी गरिएको राजदूत बुराकोव्स्कीले बताए ।
उनीहरू बिच पोखराको पर्यटन प्रवर्द्धनका विषयमा समेत छलफल भएको छ । बर्सेनि पोल्याण्डका धेरै पर्यटकहरू पोखरामा आउने गरेपनि राजदूत बुराकोव्स्कीको भने पोखरा भ्रमण पहिलो हो ।









