रेनु दाहालको प्रतिबद्धता : भरतपुरको विकास रोकिन दिने छैन

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासका लागि निरन्तर अघि बढिरहेको बताएकी छन् ।

भरतपुर आँखा अस्पतालले आयोजना गरेको अन्तर्राष्ट्रिय (आईएसओ) गुणस्तर चिन्ह हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरको विकास द्रुत गतिमा अघि बढेको बताइन् ।

भरतपुरलाई देशको नमुना र विकासको मोडल खडा गर्ने उद्देश्यसहित मैदानमा उत्रिरहेको उनको भनाइ थियो ।

‘हामी कहिले पनि थाकेका छैनौँ, उनले भनिन्, ‘निरन्तर तीव्र गतिका साथ अघि बढेका छौँ । थाक्ने वाला पनि छैनौँ । रोकिने वाला पनि छैनौँ । विकासको लागि सकेको कोसिस गरिराखेका छौँ । लागि परिराखेका छौँ ।’

मेयर दाहालले भरतपुर विमानस्थल विस्तारका गर्न बनेको कार्यदलले १५ दिनमा प्राविधिक प्रतिवेदन बुझाउने समयसीमा दिइएको जानकारी दिए ।

‘निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कामलाई अगाडि बढाउन कार्यदल बन्दै छ, यो कार्यदलले २१ दिनभित्र प्रतिवेदन बुझाउनेछ’ दाहालले भनिन् ।

यी दुवै कामलाई अगाडि बढाउन मन्त्रीपरिषद्बाट निर्णय गर्ने गरी कामहरू अघि बढेको मेयर दाहालले उल्लेख गरिन् ।

भरतपुरबाट अबको केही समयमा विशेषज्ञसहितको स्वास्थ्य सेवा लिन स्वदेशबाट मात्रै नभई छिमेकी देशबाट पनि बिरामी आउने सम्भावना बढेको उनको भनाइ छ ।

‘भरतपुरमा दुई ठूला मेडिकल कलेज, भरतपुर केन्द्रीय अस्पताल, दक्षिण एसियामा सेवा दिने क्यान्सर अस्पताल र ठूला निजी अस्पतालहरू रहेका छन्, अब केन्द्रीय शिक्षक अस्पताल, आयुर्वेद अस्पताल र प्राकृतिक चिकित्सालय निर्माण भएपछि सबै सेवा भरतपुरबाट पाइन्छ’ मेयर दाहालले भनिन् ।

भरतपुर आँखा अस्पतालले विशेषज्ञ र गुणस्तरीय सेवा प्रवाह गरी प्राप्त गरेको अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेसँगै थप चुनौती र जिम्मेवारी थपिएको उनको भनाइ छ ।
भरतपुर आँखा अस्पतालले यो गुणस्तर चिन्ह प्राप्त गरेर भरतपुर महानगरपालिकालाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराएको उनको भनाइ छ ।

भरतपुर महानगरपालिका र भरतपुर आँखा अस्पतालबिच राम्रो सहकार्यको नमुना प्रस्तुत भइरहेको भन्दै मेयर दाहालले आँखा अस्पतालको गुणस्तर विकासमा महानगर सहयात्री बन्ने बताइन् ।

कार्यक्रममा युनाईटेड रजिस्ट्रार (युआर) का कन्ट्री डाइरेक्टर प्रकाश पौडेलले नेपाल नेत्र ज्योति संघ तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेललाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

भरतपुर आँखा अस्पताल विसं २०४४ चैत १८ गते स्थापना भएको हो । ३५ वर्षमा अस्पतालले २३ लाखभन्दा बढी बिरामीलाई सेवा दिएको छ । त्यसमध्ये २२ लाख २० हजार ८६३ लाई बहिरङ्ग सेवा (ओपिडी) सेवा दिएको छ । एक लाख सात हजार ६३६ को शल्यक्रिया गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =