मुस्ताङमा चौँरी मेला, आलो रगत पिउन बिरामीको भीड

पोखरा । म्याग्दीको मालिका स्थित देविस्थानकी प्रेमकुमारी फगामी पेटसम्बन्धी समस्याले हैरान छिन् । बजारमा लाग्ने जति उपचार गरे पनि समस्या नसुल्झिएपछि उनी आयुर्वेद उपचारको खोजीमा लागिन् ।
साथीहरूले चौँरीको आलो रगत पिउँदा समस्या समाधान हुने बताएपछि अहिले नजिकका साथीहरू लिएर उनी मुस्ताङको नमखुलेक पुगेकी छिन् । ‘पेटको समस्या छ । धेरैले याकको आलो रगत पिएपछि राम्रो हुन्छ भन्नुभयो । विश्वासले आएकी हुँ,’ नमखु पुगेकी फगामीले मकालुखबरसँग भनिन् ।
फगामीजस्तै मुस्ताङकै घरपझोङका सुदीप थकाली पनि अहिले याकचौँरी मेलामा पुगेका छन् । उनी पनि पहिलो पटक याकको रगत पिउन खर्च गएका हुन् । स्थानीयहरू याक र चौँरीको रगत पिउँदा स्वास्थ्यसम्बन्धी समस्या समाधान हुने विश्वास राख्छन् । त्यसैले बर्सेनि २ पटक रगत पिउनका लागि मेला नै आयोजना हुन्छ । हरेक वर्षको वैशाख र साउन महिनामा मुस्ताङको खर्कहरूमा मेला आयोजना हुने किसानहरूले बताएका छन् ।
पछिल्लो तीन वर्ष कोरोना संक्रमणका कारण मेला लागेको थिएन । अहिले देखि पुनः मेलालाई निरन्तरता दिइएको चौँरीपालक किसान भूपेन्द्र शेरचनले जानकारी दिए । ‘अहिले जसोतसो निरन्तरता दिएका छौँ । आगामी वर्षदेखि अझै राम्रो गर्छौँ,’ उनले भने, ‘मेलामा आउन धेरैतिरबाट मान्छेहरूले फोन गर्नुभएको छ । अलि लेक भएकोले गाह्रो मान्नुभयो ।’
नमखुमा शेरचन सहित वीरबहादुर घर्ती र मनकुना थकालीको गोठमा रहेका ५ सय याक चौँरीबाट आलो रगत निकालिएको छ । बिस्तारै चौँरीपालन व्यवसाय लोप हुँदै गएको छ । केही किसानहरूले मात्रै यसलाई निरन्तरता दिइरहेका छन् । मुस्ताङका किसानले विगत १२ वर्षदेखि याकचौँरी पालनसँगै रगत बेचेर वैकल्पिक आम्दानी समेत गर्दै आएका छन् । यो वर्ष आलो रगतको प्रतिगिलास २ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । एउटै याक वा चौँरीबाट १५ देखि ३५ गिलाससम्म रगत निकालिन्छ । चौँरीको घाँटीबाट विशेष प्रकारको सियोले खोपेर रगत निकालिन्छ ।
चौँरी र याकको घाँटीबाट रगत निकालेर पिउने चलन धेरै पुरानो हो । तर केही समय रोकिएको थियो । अहिले निरन्तर चलिरहेको छ । मुस्ताङमा अहिले ८५ जना किसानको समिति नै बनेको छ । करिब ३ हजार ९ सय याकचौँरी पालन भइरहेको छ । एउटा याक वा चौँरीको मूल्य १ लाखदेखि डेढ लाखसम्म पर्छ । सरकारले वास्तविक किसानलाई भन्दा कागजपत्र मिलाएर खानेहरूलाई प्रोत्साहन गरेका कारण चौँरीपालन व्यवसाय फस्टाउन नसकेको किसानहरूको गुनासो छ ।









