सुकुम्वासी बस्तीमा पोखरा महानगर, २६ छाप्रा हटाइयो

पोखरा । सरकारी जग्गा अतिक्रमण गरी छाप्रा बनाएर बसेका सुकुम्वासी बस्ती पोखरा महानगरपालिकाले हटाएको छ । पोखरा ३३ मा अनाधिकृत रूपमा निर्माण गरिएका २६ वटा छाप्रा हटाइएको हो ।

विभिन्न जिल्लाबाट आएर बसेका उनीहरूलाई छाप्रा भत्काएर हटाइएको निरीक्षण महाशाखा प्रमुख नारायण शर्माले जानकारी दिए । दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरी २६ वटा छाप्रा भत्काइएको हो ।

नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण अभियान यहीँबाट सुरु गरिएको उनले बताए । अनाधिकृत रूपमा निर्माण गरिएका सबै संरचना हटाइने मेयर धनराज आचार्यले बताए । ‘अवैध रूपमा बनाइएका संरचना आफै भत्काउन महानगर आग्रह गर्छ । यदि हटाउनुभएन भने महानगरपालिकाले हटाउँछ,’ उनले भने, ‘पोखरा अब आफ्नो सम्पत्ति संरक्षणमा लाग्यो । त्यसमा सबैले सहयोग गर्नुस् ।’

पोखराका अधिकांश वडामा सुकुम्वासीको अनियन्त्रित बसोबास छ । पोखरा महानगरपालिकाले ती सबै बस्तीलाई स्थानान्तरण गरेर सरकारी र सार्वजनिक जग्गा संरक्षण अभियान थाल्ने मेयर आचार्यले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =