कुहिने र नकुहिने फोहोर भान्सामै छुट्याउन आग्रह गर्दै बालेन घरदैलोमा

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले कुहिने र नकुहिने फोहोरलाई भान्छामै छुट्याउन नगरवासीलाई आग्रह गरेका छन् । फोहोर वर्गीकरणका लागि सचेतना फैलाउन वातावरण तथा कृषि विभागले आयोजना गरेको कार्यक्रममा भेटिएका नागरिकहरूसँग कुरा गर्दै प्रमुख शाहले यस्तो आग्रह गरेका हुन् ।

महानगरले भोलिदेखि कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै दिनमा र छुट्टाछुट्टै सवारी साधनमा संकलन गर्दैछ । यसका लागि फोहोर उत्पादकले तोकिएको दिनमा तोकिएबमोजिम प्रकृतिको फोहोर मात्र निकाल्नु पर्नेछ ।

यदि कसैले मिसिएको फोहोर निकाल्यो भने एक पटकमा ५ सय रुपैयाँसम्म जरिवाना हुने विभागका प्रमुख सरिता राईले जानकारी दिए । २०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि ऐनलाई प्रभावकारी बनाउन लागिएको हो ।

ऐनमा फोहोरलाई स्रोतमै छुट्ट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ ।

आजको सचेतना कार्यक्रम भित्री वडा लक्षित थियो । त्यसमा वडा १८, १९, २०, २४ र २५ वडामा पुगेर नागरिकहरूलाई महानगरको फोहोर वर्गीकरण सम्बन्धी कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । यस क्रममा इन्द्रचोक, मखन, यट्खा, नरदेवी, बाङ्गेमुढा, क्षेत्रपाटीलगायत क्षेत्रमा माइकिङ्सहितको सचेतना र्‍याली पुगेको थियो ।

र्‍यालीको समापन गर्दै वडा २५ का अध्यक्ष राजेश डंगोलले सहरी सभ्यताका लागि स्वच्छता अभियानमा साथ दिन वडावासीलाई आग्रह गरे ।

विभागले हिजो वडा १२, २१, २२, २३ लगायत क्षेत्रमा सचेतना कार्यक्रम सम्पन्न गरेको विभाग प्रमुख राईको भनाइ छ ।

जैविक फोहोरबाट गड्याैले वा कम्पोस्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरको अनुरोध छ । नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्न सकिन्छ । पुन चक्रीय फोहोर कवाडी संकलकलाई बेचेर आय आर्जन गर्न सकिन्छ ।

महानगरले नागरिक दायित्वका विषयमा भनेको छ, ‘भान्छामा फोहोर उत्पादन हुने बेलामै कुहिने र नकुहिने गरी २ भागमा बाँड्न सकिन्छ । यसो गर्‍यो भने त्यसपछि व्यवस्थापनका पक्षमा सजिलो हुन्छ । अब प्लास्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोग बढाउनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =