लोकप्रिय बन्दै अरिङ्गालका परिकार

म्याग्दी । अरिङ्गालको परिकार चाख्नुभएको छ ? यदि छैन भने म्याग्दी आउनुहोस् । यहाँ तपाईँ अरिङ्गालको परिकार खान पाउनुहुन्छ । सदरमुकाम बेनीस्थित एउटा रेष्टुरेन्टले अरिङ्गालको परिकार बनाउने गरेको छ । परिकार खान चार दिन अघि नै अर्डर गर्नुपर्छ ।

एक प्लेट फ्राइ अरिङ्गालको लार्भालाई ५०० तिर्नुपर्छ । जङ्गल तथा ग्रामीण भेगमा सर्वसाधारण अरिङ्गालको गोला खोज्न जुट्छन् । मुख्यतथा असारदेखि असोजसम्म यस्तो क्रम बढी चल्छ । अरिङ्गालको गोला काटेर त्यसबाट लार्भा (किरा) निकालिन्छ । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जना भट्टचनले अरिङ्गालको परिकार बनाएर बिक्री गर्दै आएका छन् ।

सिर्जनालाई ग्राहकले ‘अरिङ्गालवाली’को नामले चिन्ने गरेका छन् । यसरी व्यापार गर्न थालेको पाँच वर्ष भएको भट्टचन बताउँछन् । ‘ग्राहकको रोजाइमा अरिङ्गालको परिकार बढी पर्छ,’ उनले भने । भट्टचनको अरिङ्गाल व्यापार बेनीमा मात्रै सीमित छैन । काठमाडौँ, पोखरालगायत ठाउँबाट समेत माग आउन थालेको छ । ‘परिकार बनाई प्याकिङ गरेर पठाउने गरेकी छु,’ उनले भने ।

फ्राइ अरिङ्गाल प्रतिप्लेटको ५०० पर्छ । यही परिकारबाट हरके याममा चार लाखदेखि ६ लाखसम्म कमाइ हुने गरेको उनी बताउँछन् ।  उनी अरिङ्गालको लार्भा एक माना एक हजार ६०० देखि दुई हजारसम्ममा खरिद गर्छन् । भिरमह शिकारलाई जस्तै अरिङ्गाल शिकारलाई पनि सरकारले अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने माग बढेको छ । सामुदायिक वन तथा व्यक्तिगत जग्गामा रहेका रुखबाट अरिङ्गालको शिकार गर्न पाइने वा नपाइने भन्नेबारे वन डिभिजन कार्यालयसित कुनै जवाफ भने छैन । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =