मन्त्री मनाङेले भने– ब्राजिलभन्दा धेरै ग्राउन्ड छन्, अझै पुगेन भन्छन्, राजीनामा दिउँजस्तो लाग्छ

पोखरा । युवा तथा खेलकुद मन्त्री दीपक मनाङे मन्त्री बनेपछि पहिलो पटक संसद्को रोस्टममा उभिएर वक्तव्य दिएका छन् ।

२०७८ वैशाख १६ गते पहिलो पटक उनी पृथ्वीसुब्बा नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । उक्त सरकारको बेला उनले बजेट बनाउन पाएनन् । गुरुङको सरकार ढल्यो । पछि उपधारा ३ अनुसार गुरुङ नै मुख्यमन्त्री बने, मनाङेलाई युवा तथा खेलकुद मन्त्रीमा दोस्रो पटक नियुक्त गरे ।

मनाङेले कित्ता फेरे गठबन्धनलाई साथ दिए, तेस्रो पटक जेठ २९ गते उनी मन्त्रीमा नियुक्त भए । मनाङे यस्तो व्यक्ति हुन्, जो सबैभन्दा छोटो समयमा तीन पटक मन्त्री बने ।

तर मनाङेले कहिल्यै भाषण गरेनन् । न बाहिरी औपचारिक कार्यक्रममा बोले, न त संसद्मा । उनी प्रमुख अतिथि भएको कार्यक्रममा समेत नबोली फर्किन्छन् । बुधवार पहिलो पटक मन्त्रालयको बजेटमाथि दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन रोष्ट्रम पुगेका मनाङेले उल्टै सांसदहरूलाई थर्काएर फर्किए । सांसदहरूले जति बेला पनि खेल मैदानको पैसा मागेको भन्दै आफू इरिटेड भएको उनको गुनासो छ ।

‘अघि ट्वाइलेट गएको त्यहाँ पनि ४ जना आएर खेल मैदान हाल्देऊ भन्छ । मैले खनेर बनाउने हो र रु मलाई त इरिटेड बनाए बरु पद नै दिऊँ जस्तो लागिसक्यो,’ उनले भने, ‘ब्राजिलमा पनि यति धेरै ग्राउन्ड छैन होला । तैपनि पुगेन भन्छ । तर पनि मैले कोसिस गरेको छु । तपाईंहरूले धेरै इरिटेड गरिरहनुभएको छ । कि पद पनि लानुस् । कोही छ भने आउनुस्, लिएर जानुस् । अत्ति इरिटेड भैसकें ।’

उनले सांसदलाई प्रश्न गर्न जस्तो काम गर्न सजिलो नभएको बताए । ‘प्रश्न गर्न सजिलो छ, तर मलाई प्रश्न गर्ने भन्दा अर्थमन्त्री र मुख्यमन्त्रीलाई सोध्नुपर्ने हो,’ सांसदले बजेट नपाएको गुनासो गरेपछि उनले भने, ‘मैले पनि शिक्षा मन्त्रालयबाट एउटा र्काक्रममा १० लाख, अर्कोमा १५ लाख पाएको छु । पर्यटन मन्त्रालयले ५ लाख दिएको छ । अरू मन्त्रालयबाट एक रुपैयाँ पनि पाएको छैन । उनीहरूसँग रिसाएर हुन्छ रु त्यै भएर मलाई यहाँ आउन पनि मन लाग्दैन । आयो कि ग्राउन्ड कि ग्राउन्ड भन्छ । कसले प्रश्न गर्नुभएको थियो, बाहिर भनेको भए यो त रिस उठ्ने कुरा हो ।’

उनले अघिल्लो वर्ष २ सय ५ वटा खेल मैदान बनाएको भन्दै अहिले पनि सबै जिल्लामा कार्यक्रम राखेको जवाफ दिए । मन्त्री मनाङेले आफू भाषण गर्न नजान्ने भन्दै निरन्तर संसद्को मर्यादाभन्दा बाहिरबाट जवाफ दिइरहेका थिए ।

‘तपाईंहरू जस्तो कहिल्यै किन्तु परन्तु भन्न जानिनँ । म भाषण दिएर हिँड्ने मान्छे हैन । मेरो सट्टामा भाडामा कसैले भाषण गरिदिए त्यसैलाई ल्याउँथेँ,’ उनले भने, ‘त्यसलाई १०–२० हजार दिन्थेँ । म जबरजस्ती आएर बोलिरहेको छु ।’ उनले प्रतिपक्षी दललाई समेत छुट्टै बजेट दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =