तनहुँमा ७७ प्रतिशत उम्मेदवारले खर्च विवरण बुझाएनन्

दमौली। निर्वाचन परिणाम सार्वजनिक भएको एक महिना बितिसक्दा पनि तनहुँमा ७७ प्रतिशत उम्मेदवारले खर्च विवरण बुझाउन अटेर गरेका छन् । स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भएको एक महिनाभित्र खर्च विवरण बुझाउनुपर्ने कानुनी प्रावधान रहे पनि जिल्लामा ७७ प्रतिशत उम्मेदवारले खर्च विवरण नबुझाएका हुन् ।

दश स्थानीय तहमा एक हजार ६३६ उम्मेदवार रहेकामा ३७२ जनाले मात्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार एक हजार २६४ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् ।

“खर्च विवरण बुझाउन सूचना प्रकाशित गर्‍यौँ, तोकिएको मितिभित्र सबै उम्मेदवारले खर्च विवरण बुझाउनुभएन”, ढकालले भने, “खर्च विवरण नबुझाउनेलाई निर्वाचन आयोगले कारबाही गर्छ ।”

निर्वाचन आयोगले असार मसान्तभित्र विवरण पठाउन निर्देशन दिएको छ । “हालसम्म खर्च विवरण बुझाउनको विवरण सफ्टवेयरमा भर्दैछौँ”, उनले भने, “असार महिनाभित्र आउने सबैको विवरण सफ्टवेयरमा भर्छौँ, त्यसमा कहिले बुझाएको भन्ने मिति राखिनेछ ।”

नगरप्रमुख, उपप्रमुख पदका उम्मेदवारले रु चार लाख ५० हजार, वडाध्यक्षले रु दुई लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारले रु तीन लाख ५० हजार र अन्यले रु एक लाख ५० हजारसम्म खर्च गर्न पाइने आयोगले व्यवस्था गरेको थियो ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा ९२०, स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =